सुर्खेतमा आइतबार साना दल र स्वतन्त्र उम्मेदवारको मनोनय दर्ता

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार सुर्खेतमासाना दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनय दर्ता गरेका छन् ।  आइतबार पहिलो दिन स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारहरुले मनोनय दर्ता गराएका हुन् ।

पञ्चपुरी नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट मेयरमा शसिराम कंडेल र उपमेयरमा पूर्णा कंडेलले उम्मेदवारी दर्ता गराएका छन् । पञ्चपुरी नगरपालिकामा नै नेमकिपाबाट मेयरमा दिप बहादुर विक र उपमेयरमा बिमला कठायतले उम्मेदवारी दर्ता गराएका छन् । वडा नं ८ को वडा अध्यक्षमा विष्णु बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै लेकवेशी नगरपालिकामा नेमकिपाबाट देव बहादुर घर्तिले मेयरमा उम्मेदवार दर्ता गराएका छन् । निर्वाचन अधिकृत दिपेन्द्रनाथ योगीका अनुसार एक जनाले वडा नं ५ को वडा सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् ।

यस्तै चिङ्गाड गाउँपालिकमा भने कसैले पनि उम्मेदवारी दिएका छैनन् । निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले आइतबार कसैले पनि दर्ता नगरेको बताए । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एक जना, उपमेयरमा स्वतन्त्र उम्मेदवारसहित दुई जना र वडा अध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारीसहित पाँच जनाले मनोनय दर्ता गरेका छन् । महिला सदस्यमा तीन जनाले दर्ता गरेका छन् ।

बराहताल गाउँपालिकाको अध्यक्षमा भिम बहादुर भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वडा नं ५ को वडा अध्यक्षमा पवन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । भेरीगंगा नगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा पहल सिंह बस्यालले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै गुर्भाकोट नगरपालिकामा राप्रपाबाट मेयर पदमा कलावती रेग्मी र उपमेयरमा मोहन सापकोटाले उम्मेदवारी दिए । गुर्भाकोटकै मेयरमा जय बहादुर खत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृत तुलसा भण्डारीका अनुसार राप्रपाबाट सात  जनाले वडा अध्यक्षमा  मनोनय दर्ता गरेका छन् । दुई जनाले स्वतन्त्र रुपमा वडा अध्यक्षमा मनोनय दर्ता गर्नु भएको उनले जानकारी दिए ।
अन्य दलहरुले भोलि मनोनय दर्ता गर्ने जनाएका छन् । आइतबार र सोमबारका लागि मनोनय दर्ता गर्ने समय तोकिएको छ ।