युक्रेनको मरिपोल सहरमा रहेको युक्रेनी सेनाका कमान्डरद्वारा सहयाेग माग

एजेन्सी । युक्रेनको मरिपोल सहरमा रहेको एक मात्र सैन्य क्याम्पका कमान्डरले आफूहरूलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । मेजर सेर्ही भोलिनाले एउटा भिडियो सन्देश पठाउँदै आफूहरूको क्याम्पमा रहेका झन्डै पाँच सय घाइते सेना र आश्रय लिइरहेका झन्डै एक लाख गैरसैनिकलाई मरिपोल सहरबाट बाहिर निकाल्न सहयोगका लागि आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले मरिपोलमा रहेका सैनिकहरूलाई जीएमटी ११ अर्थात् नेपाली समयअनुसार आज बेलुकी पौने पाँच बजेसम्मको समय दिएको छ । सैन्य कमान्डरले रुसले दिने यो सम्भवतः अन्तिम समय हुन सक्ने भन्दै त्यहाँ रहेका घाइते सेना र गैरसैनिकलाई बाहिर निकाल्न सहयोगका लागि आग्रह गरेका हुन् । उनले आफूहरूले अन्तिम समयसम्म पनि आत्मसमर्पण भने नगर्ने बताए ।

मारिपोलमा ठूलो सङ्ख्यामा रुसी सैनिक रहे पनि अझैसम्म सहर कब्जा गर्न भने नसकेको मारिपोल नगर परिषद्लाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिपोलको अवस्था निकै कठिन रहेको भन्दै दशौँ हजार मानिसको भविष्य अन्योलमा परेको बताउनुभएको छ । रुसको आक्रमणका कारण मरिमोल सहरका सबैजसो संरचना ध्वस्त भएका छन् ।