रुसले अरु देशबाट हुने अनधिकृत आयातलाई अनुमति दिँदै

काठमाण्डाै । रुसले ट्रेडमार्कको स्वामित्व रहेकाको स्वीकृतिबीना नै आयातलाई अनुमति दिने भएको छ । आफ्ना उत्पादनलाई रुसमा निर्यात रोक्ने पश्चिमा देशको प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले यो निर्णय गरेको हो ।

यसअघि ट्रेडमार्क धनीको अनुमतिबिना रुसमा सामान बेच्न नमिल्ने व्यवस्था रहेको थियो । आयात गरिने उत्पादनको सूचीबारे उद्योग तथा व्यापार मन्त्रालयसँग समन्वय गर्नुपर्ने रुसको सरकारले जनाएको छ । प्रधानमन्त्री मिखाइल मिशुस्टिनले साना र मध्यम खालका व्यवसायको लागि राहत योजनाको अंशको रूपमा समानान्तर आयातलाई अनुमोदन गर्नुभएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा गरेको आक्रमणपछि पश्चिमा देशले लागू गरेको प्रतिबन्धका कारण मुद्रास्फीति वृद्धि भएको छ । रुबलको मूल्य घटेको बेला रुसको वार्षिक मुद्रास्फीति बढेर यसै हप्ता १५ दशमलव ६६ प्रतिशत पुगेको छ ।