ब्राजिलको राष्ट्रपतिमा मजदुर नेता लुला निर्वाचित

सुर्खेत । ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला दा सिल्भा निर्वाचित भएका छन् । । दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई पराजित गर्दै पूर्वराष्ट्रपतिसमेत रहेका लुला राष्ट्रपतिमा विजयी भएका हुन् । लुलाले ५० दशमलव ८ प्रतिशत मत प्राप्त गरेका थिए ।

बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत प्राप्त गरेको बीबीसीले जनाएको छ । पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि लुला दा सिल्भा र बोल्सोनारोबीच हिजो आइतवार पुनः निर्वाचन भएको हो ।

७७ वर्षका मजदुर नेता लुला राष्ट्रपति चुनिएको यो तेस्रो पटक हो । उनले आगामी जनवरी १ देखि ब्राजिलको सत्ता सम्हाल्ने छन् । गरिब परिवारबाट आएर देशको सर्वोच्च पदमा पुग्ने लुलाको जीवन कथा र उनी राष्ट्रपति हुँदा ब्राजिलले गरेको आर्थिक सुधारलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि लुला संसारकै सबैभन्दा लोकप्रिय राजनीतिज्ञ रहेका बताएका छन् ।

पाँच कक्षासम्म मात्रै पढेका लुलाले परिवारको आर्थिक समस्या टार्न सुरुमा जुत्तामा पालिस लगाउने काम गरेका थिए । त्यसपछि उद्योगमा मजदुरी थालेका लुला २० वर्षको उमेरदेखि मजदुरका हक अधिकारबारे बोल्न थालेका हुन् ।

जेलबाट छुटेको १९ महिनापछि राष्ट्रपतिमा चयन भएका लुलाले देशको आर्थिक स्थिति फेरि सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । लुलाको जितले ब्रजिलको सबैभन्दा उग्र दक्षिणपन्थी सरकारको अन्त्य गरेको छ ।