
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा हर्षविक्रम खड्का नेतृत्वको साझा व्यवसायी समूहलाई जिताउन गठबन्धन दलहरुले संयुक्त रुपमा आह्वान गरेका छन् । आगामी वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघमा अहिले दुईवटा समूह चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी निकट व्यवसायीहरुको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको नेतृत्वमा एक समूह चुनावी मैदानमा उत्रिएको छ ।
यो समूहको प्रतिस्पर्धीका रुपमा हालका महासचिव लक्ष्मण कँडेलको नेतृत्वमा अर्को समूह चुनावी मैदानमा उत्रिएको छ । समीकरण गरेका दलका जिल्लास्थित प्रमुखहरुले खड्का नेतृत्वको समूहलाई निर्वाचित गराउन मंगलबार आह्वान गरेका हुन् ।
‘जिल्लाको समग्र विकासमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन, व्यावसायिक हकहित तथा उन्नयनलाई सशक्त बनाउन र सुर्खेत उद्योग वाणिज्य संघलाई सुर्खेती व्यवसायीहरुको साँचो अर्थमा साझा संस्था बनाउन अध्यक्ष पदका उम्मेदवार हर्षविक्रम खड्काले नेतृत्व गरेको साझा व्यवसायी समूहका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गर्दछौं।’ दलका सुर्खेतस्थित प्रमुखहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


फरकबाटो २९ चैत्र २०७८, मंगलवार १८:३९