तरलताको चाप कायमै छ, केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुङ्गाना

काठमाण्डौ । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।

आज सोमवार काठमाण्डौमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै कायममुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् । तरलता तथा ब्याज दरमा आएको उतारचढावका कारण समग्र अर्थतन्त्र र नागरिकले पीडा भोग्नुपरेको उनले दाबी गरिन् ।

कायममुकायम गभर्नर ढुङ्गानाले भन्नुभयो, ‘अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्था छ । ब्याजदरको समेत समस्या रहेको छ । सधैँभरि सहज परिस्थिति हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’

उनले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुद पनि अझै कुल जनसङ्ख्याको १८ प्रतिशत हिस्सा गरिबीको रेखामुनि रहेको बताइन् । कायममुकायम गभर्नर ढुङ्गानाले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न लैङ्गिक हिंसा र महिला सशक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको छ बताइन् ।