कहिल्यै फेरिएनन् चन्दाका दिन…

खोलाको बास, समाजको अवहेलना

सुर्खेत ।  सायद छोरी जन्मिइ भनेर होला, जन्मिनेबित्तिकै बाबुआमाले उनलाई धानबारीमा फालिदिए । रगतसँगै लतपतिएको अवस्थामा वीरेन्द्रनगरकी मनशुभा गुरुङले उनलाई भेट्टाइन । गुरुङले नेपालगञ्ज बस्दा ४३ वर्ष अघि चन्दा खानलाई भेटेकी हुन । त्यसपछि चन्दाकी कर्म दिने आमा गुरुङ नै बनिन् ।

४३ वर्षदेखि अझै पनि उनको साथमा गुरुङ छिन् । गुरुङले उनलाई हुर्काइन, बढाइन् । उनलाई भेट्टाएको भएर नाम त बनदेवी राखिएको थियो । तर उनलाई सबैले ‘बनकाली’ भनेर बोलाउँछन् । त्यसपछि उनले छोरीको नाम चन्दा राखेकी हुन् । चन्दाका दिनहरुमा कहिले पनि खुशीका पल आएनन् । बढ्दै गएपछि भारतीय नागरिकसँग विवाह गरिन् । चार छोरी जन्मिए । चारवर्ष अघि श्रीमान्को मृत्यु भयो । त्यसपछि झन् उनलाई दुःखका दिनले घेरे । हुन त उनलाई त्यसअघि सुख नै कहाँ थियो र ! मजदुरी गरेर छ जनाको परिवार पाल्न मुस्किल नै थियो ।

खोलाको बास, समाजको अवहेलना

श्रीमान् हुँदासम्म उनी भाडाको घरमा बसेकी थिइन् । श्रीमान्को निधन भएपछि केही समय भाडामा बसिन् । गतवर्ष कोरोनाका कारण लकडाउन भएपछि सबैतिर काम बन्द भयो । भाडा तिर्ने पैसाको कुरै छोडौँ, बिहान साँझसम्मको छाक टार्ने समस्या भयो । घरधनीले भाडा नदिएपछि बस्न दिएनन् । गएको फागुनदेखि वीरेन्द्रनगर ५ मा पर्ने खोर्केखोलाको किनारमा सानो झुपडी हालेर चार छोरीसहित बस्न थालिन् ।

खोलाको किनारामा बसेर उनले भाडा तिर्नुपर्दैन तर डरैडरको जिन्दगी बिताउनु परेको छ । किरा सर्पको डर एकातिर छ अर्कोतिर हुर्केका छोरीहरुको ईज्जत जोगाउनु पनि । खोलाको किनारामा बासभएकी चन्दाले दिनभरी खानाको जोहो गरेर साँझ र बिहानको छाक टार्ने गरेकी छन् । उज्यालो हुने बित्तिकै उनी देउती बज्यै परिसरमा जान्छिन् । कहिले कसैको घर–घरमा माग्न जान्छिन् । गएको फागुनदेखि उनले यसैगरी दैनिकि बिताएकी छन् । उनले भनिन्, ‘कोठा भाडा तिर्न सकिएन । त्यसपछि यही खोलाको छेउमा झुपडी बनाएर बसेकी छु । कहिले मजदुरी गरेर अनि कहिले मागेर खर्च चलाउँछु ।’

हुन त उनलाई सहयोग गर्ने मान्छेहरु पनि आए । उनकी आमा उनीसँगै छिन् । छोराबुहारीसँग बसेकी उनकी आमा गुरुङ खोलाको छेउमा छोरी र नातिहरु सुरक्षित नहुने भए पछि सँगै आएर बसेकी छन् । खास भन्नुपर्दा उनकी आमा, छोरी र नातिनीहरुको चौकीदार जस्तै बनेकी छन् । ‘खोलामा चुरोट गाँजा खाने केटाहरु आउँछन् । सानो झुपडी छ । खुट्टा तान्न आउँछन्’ आमा गुरुङले भनिन्, ‘यिनीहरुको साथी हुन म पनि यहीँ बसेकी छु ।’ गुरुङ खोलाको छेउमा बसेर गिट्टी कुट्छिन् । नातिनीहरुको लालनपालनमा छोरीलाई सघाउँछिन् । वरीपरीका समाजले नराम्रो नजरले हेर्दा उनको मन दुख्छ । ‘रगतमै लतपतिएको अवस्थामा मैले उसलाई भेट्टाएको हो । बढाएँ, हुर्काएँ । बिहे भयो । सुख पाउली भनेको झन् दुःख मात्र पाई, यसको जीवनमा सुख कहिले पनि आएन । झन् कोही नहुँदा सबैले हेप्ने रहेछन् ।’ उनले भनिन् ।

कोही मनकारी मानिसले सहयोग गर्छन् । केहीले उनलाई सहयोग पनि गरे । स्थानीय कृष्णा अधिकारीले खाद्यान्न जुटाउन पहल गरिन् । स्थानीय, प्रदेश सरकारसँग उनले कुरा राखेको बताइन् । तर उनको समस्याको दीगो व्यवस्थापनका लागि कहीँ कतैबाट पहल नभएको उनको भनाइ छ । वडा कार्यालयले नै सुरक्षित ठाउँमा बसोबासका लागि पहल समेत ग¥यो । तर समाजले उनलाई बस्ने स्थान दिएन । छोरी–छोरी मात्रै छन्, हाम्रा छोराहरु बिग्रन्छन् भनेर टोलका मान्छेहरुले बस्नै दिएनन् । वीरेन्द्रनगर–५ सरस्वतीटोलमा बाल विकास केन्द्रको भवन खाली थियो । चन्दाको परिवारलाई त्यही राख्ने विषयमा छलफल भयो । तर वरीपरीको समाजको विरोध पछि वडा कार्यालय पछि हट्यो । ‘त्यहाँ वरीपरीका मानिसहरुले बस्न दिएनन् । तर समाजले नै अपहेलना गर्ने रहेछन् । कोही नभएपछि हेला गर्ने रहेछन् सबैले ।’ चन्दाकी आमा गुरुङले सुनाइन् ।

वडा अध्यक्ष राजबहादुर गुरुङले उनीहरुलाई सुरक्षित ठाउँमा राख्ने पहल भैरहे पनि समाजका कारण समस्या सिर्जना भएको बताए । उनले भने, ‘उक्त बालविकास केन्द्र खाली भएकाले त्यहाँ राख्ने कुरा भएको थियो । तर त्यहाँको समाजले उनीहरुलाई राख्न दिएनन् । दुई पटकसम्म हामीले खाद्यान्न पनि सहयोग गरेका थियौँ । जग्गा पाएपछि राख्छौँ ।’ राजनीति पार्टी, जनप्रतिनिधि सबैले उक्त ठाउँमा बस्न पहल गरे पनि वरीपरीको समाज नै उर्लिएर आएपछि राख्न नसकिएको उनले बताए ।

उनकी जेठी छोरी निशा खान हराएको महिना दिन पुग्न लागिसक्यो । उनका अनुसार जेठी छोरीलाई मानसिक रुपमा समस्या छ । पटक–पटक हराउने गरेको उनले बताइन् । प्रहरीमा अहिले पनि खोजिदिन निवेदन दिएको उनको भनाइ छ । ‘कालीकोट पुगेकी छ भनेर सुनेको छु । प्रहरीले हुलिया काटिदिन्छु भनेको छन् ।’ चन्दाले भनिन्, ‘उसको मानसिक अवस्था ठिक छैन । प्रहरी पनि अब त कति खोज्ने भन्छन् । प्रहरीको पनि जान मन लाग्दैन् । छोरी बाँचे की छ की मरेकी छ केही अत्तोपत्तो छैन् ।’

साइली छोरी एक घरमा काम गर्न बसेकी छन् । उनलाई कामगर्न बसेका घरमा पढाइदिन्छन् । उनी पाँच कक्षामा पढ्छिन् । माइली छोरी १९ वर्ष पुगिसकिन् । उनले तीन कक्षा पढेर आर्थिक अवस्थाका कारण छोडिन् । कान्छी छोरी चार वर्ष वर्षकी भैसकेकी छन् । तर उनले विद्यालयको पाइला टेकेकी छैनन् । उनले भनिन्, ‘स्कुल कसरी पठाउने । बिहान र साँझ छार्क टार्ने ठिक्कै हुन्छ ।’

चन्दाको नागरिकता छैन् । भारतीय नागरिकसँग विवाह गरेकाले पहिले पनि नागरिकता बनेन । श्रीमान्को निधन भएपछि नागरिकता पाउन झन् कठिन भयो । ‘नागरिकता भएको भए वृद्धभत्ता पाउने थिएँ । घरखर्च चलाउन सजिलो हुन्थ्यो । तर नागरिकता बनाउन श्रीमान् नभएसम्म हुुन्न ।’ उनको नागरिकता नभएकाले छोरीहरुको समेत जन्म दर्ता र नागरिकताबाट बञ्चित छन् ।