विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइयो

सुर्खेत । ७२ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । कर्णाली प्रदेश सरकारले दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गरेको हो । मुख्यमन्त्री जीवनबहादुर शाही र मन्त्रीहरुलगायतको सहभागितामा विभिन्न कार्यक्रम गरिएको हो ।

दिवसको अवसरमा शनिबार सहिद पार्कमा सरसफाई गरिएको छ । सरफाई कार्यक्रममा मुख्यमन्त्री शाहीसँगै सरकारका मन्त्री , प्रमुख सचिव, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा सहिद पार्कमा सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । सरसफाई कार्यक्रमपछि मुख्यमन्त्री शाहीले सहिद स्तम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका थिए । मुख्यमन्त्री शाहीले सहिद पार्कमा निर्माण भइरहेको शिव मन्दिर निर्माणमा लाग्ने आवश्यक खर्च पार्कका अध्यक्ष अमर कार्कीलाई हस्तान्तरण गरे ।

यस्तै मान सेवा आश्रम, बादी सरोकार मञ्च र प्रशान्ति बृद्धाश्रममा खाद्यान्न तथा सरसफाईका सामाग्री वितरण गरिएको छ । बादी सरोकार मञ्चको आश्रयमा रहेका ८० जना बालबालिकाहरुलाई मुख्यमन्त्री शाहीले व्यक्तिगत खर्चमा पोशाक उपलब्ध गराउने घोषणा गरेका छन् । उनले शिक्षानै जीवन भएकाले विभिन्न निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई विद्यालय पोशाक उपलब्ध गराउने बताए ।

यस्तै प्रशान्ति बृद्धाश्रममा चालू आर्थिक वर्षभित्रै ४० लाखको लागतमा बृद्धबद्धाहरुलाई खाना खानका लागि भवन निर्माण गर्ने घोषणा पनि गरे । उनले अहिले बृद्धाश्रमको माथिल्लो तलामा रहेको भान्छा घरमा गएर खाना, खाजा खान बृद्धबृद्धाहरुलाई समस्या भएको बताउँदै आश्रमको खाली ठाउँमा भान्सा घर बनाउनका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

खाद्यान्न तथा सरसफाई सामाग्री वितरण कार्यक्रममा प्रमुख सचिव राजकुमार श्रेष्ठ, सचिव आनन्द सारु, भरतकुमार शर्मा, शंकर केसी र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलगायतको उपस्थिति रहेको थियो ।