म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन सुरु

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आजदेखि म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ ।

७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले गएको आइतवार म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्तसम्बन्धी फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिएको छ ।

स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७४ वा स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भइ सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल० मा विभिन्न पदमा–२०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिइ शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भइ प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिहरू र विदेशका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने उल्लेख छ । असोज ७ गते सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी पुलिसको कार्यअवधि ४० दिनको हुनेछ ।