सुर्खेतमा ग्राजुएट सम्मेलन हुँदै

सुर्खेत । आठौँ ग्राजुएट सम्मेलन सुर्खेतमा हुँदैछ । मध्यपश्चिम विश्वविद्यालयको संयोजनमा यस पटक ग्राजुएट सम्मेलन सोमबार र मंगलबार वीरेन्द्रनगरमा हुन लागेको हो । आयोजकले आइतबार वीरेन्द्रनगरमा सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको छ ।
नेपालमा ग्राजुएट सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, त्रिभुवन विश्वविद्यालय अन्तरगत वातावरण केन्द्रीय विभाग, कृषि तथा वन विश्वविद्यालय , काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बनी बौद्ध विश्वविद्यालय, सुदुर पश्चिम विश्वविद्यालय र रिर्सोसेस हिमालय तथा आई सेट नेपाललगायतका संघसंस्थाहरुको सहकार्यमा हुन लागेको हो ।

ग्राजुएट सम्मेलनको सातौँ संस्करण लुम्बनी विश्वविद्यालयको संयोजनमा भएको थियो । यूवा विद्यार्थीहरुलाई अनुसन्धान र नवपर्वतन सिपको विकासका लागि अभिप्रेरित गराउने लक्ष्यले ग्राजुएट सम्मेलनको आयोजना हुँदै आएको छ ।

सम्मेलन सचिव शिवराज घिमिरेका अनुसार सम्मेलनमा खाद्य सुरक्षा, कृषि तथा वन, जलस्रोत तथा उर्जा, जलवायु परिर्वतन र प्रकोप, समाजशास्त्र शिक्षा तथा व्यवस्थापन शाखा, दर्शनशाखा र विकास नवपर्वतन प्रणालीलगायतका बारेमा छलफल हुनेछ ।

कार्यक्रममा १९ वटा विश्वविदालय सहभागि हुने सम्मेलन सचिव   घिमिरेले जानकारी दिए । अन्य देशहरुमा भारत, भुटान, चीन र थाइल्यान्ड सहभागि हुनेछन् । सम्मेलनमा स्नात्तक तथा स्नातकोत्तर विद्यार्थीहरु, पिएचडी प्राप्त व्यक्तिहरु , अनुसन्धान विज्ञहरुको सहभागिता रहने छ ।