एसईईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा अगाडि बढिरहेको जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले पनि असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए ।

अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको उनको भनाई छ ।