काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइने

सुर्खेत । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाली काँग्रेस कर्णाली प्रदेशले प्रशिक्षण दिने भएको छ । भोली र पर्सी प्रदेश राजधानी सुर्खेतमा कांग्रेसबाट निर्वाचन जितेका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको हो ।

यस विषयमा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बिहीबार बसेको प्रदेश समितिको बैठकले कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले जानकारी दिए ।

उनका अनुसार वीपी जयन्तीको अवसरमा भदौ २४ र २५ गते २ दिने प्रशिक्षण कार्यक्रम हुनेछ । कार्यक्रममा नेपाली कांग्रेसको इतिहास, पालिकाको सु–साशन कायम कसरी राख्ने रु र कानुन सम्मत ढङ्गबाट पालिकाको कामलाई अगाडी बढाउने विषयमा प्रशिक्षण दिइने उनले बताए । कर्णालीकै विषयगत विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।

साथै विकास निर्माण कार्यलाई जनपक्षीय रुपमा काम गर्ने विषयमा पनि छलफल गरिने सभापति शाहीले बताए । कार्यक्रमको प्रशिक्षण डाक्टर महेन्द्र मल्ल, अर्जुन एडी लगायतले दिनेछन् । प्रशिक्षण कार्यक्रममा काँग्रेसबाट निर्वाचित कर्णालीका करिब ६४ जना जनप्रतिनिधिको सहभागिता रहने बताइएको छ