त्रिकोणात्मक टी–२० शृंखला : मलेसियामाथि नेपालको सानदार जित

दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।

नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो ।

मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । अब नेपालले फाइनलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । अनलाइनखबरबाट