केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा क्लिन स्विप

काठमाडाैं । तीन खेलाडीको अर्धसतकसँगै केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ। आज भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले ३–० ले सिरिज आफ्नो पक्षमा पारेको हो।

जितका लागि केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ दशमलव १ ओभरमा मात्र ४ विकेटकोे क्षतिमा विजयी लक्ष्य भेट्टायो। नेपालको जितमा अर्जुन साउद, आशिफ शेख र बसिर अहमदले अर्धशतक प्रहार गरे।

अर्जुन र आशिफले क्रमशः ५८ तथा ५६ रनको योगदान गर्दा बसिर अहमदले अविजित रहँदै ५२ रनको योगदान गरे। रोहित पौडेल ४६ रनमा अविजित रहे।

बलिङतर्फ वार्ज पटेलले सर्वाधिक २ तथा सेम नेगोचे र एस तलातीले १/१ विकेट हात पारे। यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर शुरुवाती ब्याटिङ थालेको केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनायो।

केन्याका लागि दुई खेलाडीले अर्धशतक प्रहार गरे। कोलिन्स ओबुयाले सर्वाधिक ८४ रनको योगदान गरे। १११ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे।

लुकास एनडानडासनल अविजित ५९ रन जोडे। २७ बलको सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरे। सुकदीप सिंहले ३७ रनको योगदान गरे भने इम्यानुअल बन्डीले २३ रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामी र अदिल अन्सारीले सर्वाधिक २/२ विकेट लिँदा शाहबाब आलम र बसिर अहमदले १/१ विकेट हात पारे।