
सुर्खेत । २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकले अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा मारिनु प¥यो । उनी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती बिहेका लागि गएको समयमा उनीसँगै छ जनाको हत्या भयो ।
२०७५ जेठ १९ गते कालिकोटको नरहरीनाथ गाउँपालिका ९ की मना सार्कीको हत्या भयो । वडा सदस्य रहेकी सार्कीलाई गाली गर्दै धारा छुन समेत दिइएनन् । स्थानीय शाही थरका मानिसहरुले कुटपिट गरेर उनको हत्या गरे । उनले आफ्ना श्रीमानले दिएको पैसा माग्दा उल्टै उनीहरुले आफ्नो बुबासँग अनैतिक सम्बन्ध समेतको रहेको आरोप लगाए । कर्णालीमा यि जातीय विभेदका प्रतिनिधिमुलक घटनाहरु मात्र हुन् ।
नेपालको संविधानमै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्ने उल्लेख छ । तर अझै पनि अन्तरजातीय विवाह गरेकै कारण, पानी छोएकै कारण, मन्दिरमा प्रवेश गरकै कारण मारिनुपर्ने, विभेद सहनु पर्ने र अपमानित हुनुपर्ने अवस्था कर्णालीमा कायमै रहेको छ । मुख्य गरी दलित समुदाय माथि हुने जातीय भेद्भावका घटनामा अझै कमी अझै आउन सकेको छैनन् ।
प्रहरीको तथ्यांक हेर्ने हो भने कर्णालीमा जातीय भेद्भावका घटनामा कमी नआएको देखिन्छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पछिल्लो तीन वर्षको अवधिमा २० जना जातीय भेद्भावका कारण पीडित छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले समाजमा केही न्यूनिकरण भए पनि प्रहरीमा उजुरी आउने गरेको बताए । जातीय भेद्भाव सम्बन्धमा दलित समुदाय माथि होच्याउने, अपमान गर्ने, दलित समुदायलाई मर्यादित नभएर गालिगलौज गर्ने, जातीय भेद्भावकै कारण ज्यान गुमाउनुपर्नेलगायतका घटनाहरु हुँदै आएका छन् । प्रहरीको तथ्यांक हेर्दा वर्षमा तीन चार वटा जातीय भेद्भाव तथा छुवाछुतका घटना प्रहरीसम्म आउने गरेको प्रहरी नायव उपरीक्षक बमको भनाई छ ।
जातीय विभेदका घटनाहरु अझै बाहिर आउन नसकेको अधिकारकर्मीहरु बताउँछन् । दलित महिला संघ सुर्खेतका अध्यक्ष मञ्जु सुनारले समाजमा जातीय भेद्भावका घटनाहरु भइरहे पनि बाहिर आउन नसकेका र प्रहरीसम्म पुग्न नसकेको बताइन् । संविधानमा उल्लेखित व्यवस्था र जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेका कानूनको व्यवहारिक कार्यान्वयन नहुँदा पनि जातीय भेद्भावका घटनामा कमी आउन नसकेको उनको भनाई छ । उनले भनिन्, ‘कर्णालीमा जातीय विभेदका कारण दर्दनाक घटनाहरु अझै पनि घट्ने गरेका छन् । अन्तरजातीय बिहे गरेका कारण रुकुमपश्चिममा मारिनु परेको, पानी छोएकै भरमा कुटपिट भएर मारिनु परेको घटना हामीले देखेका छौँ सुनेका छौँ । जसले गर्दा हाम्रो समाजमा जातीय विभेदको डर लाग्दो अवस्था छ भनेर देखाउँछ ।’उनले प्रभावकारी कानून कार्यान्वयन र सचेतना जगाउन आवश्यक रहेको बताइन् ।
कर्णालीमा जातीय विभेद अन्त्यका लागि सचेतनालागयतका कार्यक्रमहरु भइरहे पनि जातीय विभेदका घटनामा कमी आउन नसकेको छैन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सार्वजनिक गरेको मानव अधिकार वष २०२२ पुस्तक मा पनि कर्णालीमा जातीय विभेदका घटनामा कमी नआएको उल्लेख छ । पुस्तकका अनुसार २०२१ मा १४ वटा जातीय भेद्भावका घटनाहरु भएको अभिलेख छ । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायाण सुवेदी कर्णालीमा अझै जातीय विभेदका घटनामा कमी नआएको बताउँछन् । उनले भने, ‘घटनाहरु कमी हुन सकेको छैन् । हामीले अभिलेख गरे अनुसार २०२१ मा १४ वटा जातीय विभेदका घटना घटेका थिए । यो अघिल्लो वर्ष भन्दा धेरै हो । कतिपय घटनाहरु समुदायमा मिलापत्र हुँदा पीडितहरुले न्याय पाउन नसकेको अवस्था छ । पानी छोएको, मन्दिरमा प्रवेश गरेको भनेर दलित समुदाय माथि विभेद कायमै छ ।’ उनले कानूनी सचेतनासँगैै जातीय विभेदको अन्त्यका लागि सबैले साझा अभियानको रुपमा लाग्नुपर्ने बताए ।

फरकबाटो १७ चैत्र २०७८, बिहीबार १७:०१