एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानको मर्म विपरीत : सांसद भट्टराई

सुर्खेत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिने कुरा संविधानको मर्म विपरीत भएको बताएकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भट्टराईले आमाको नामबाट नागरिकता पाउने कुरा संविधानले नै स्वीकार गरेको अवस्थामा एकल महिलाको सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधान विपरीत भएको बताएकी हुन् । उनले मावलीको थरबाट सन्तानलाई नागरिकता दिने कुराले आमाको अस्तित्वलाई अस्वीकार गरेको पुष्टि हुने बताईन् ।

उनले भनिन् , ‘एकल महिलाको अस्तित्वको कुरा, पहिचानको कुरा छ । संविधानले नै हामीलाई आमाको नामबाट वा बाबुको नामबाट नागरिकता पाउने कुरालाई स्वीकार गरेको छ । तर अहिले कानुन र संविधानभन्दा विपरीत ढङ्गले मावली भनेर जुन शब्द राखियो, त्यो शब्दले आमा भन्ने कुरालाई नै अस्तित्वलाई मानेन भन्ने मेरो कुरा हो । महिलाको अस्तित्वसहितको हकलाई कसरी हामीले संरक्षण गर्ने रु महिलाको हकलाई हामीले कसरी स्थापित गर्दै लैजाने भन्ने त हिजो संविधान सभाको प्रमुख विषय थियो । संविधान र कानुनले स्थापित गरेको विषयलाई परिपत्रले खण्डन गरेजस्तो लाग्यो । मावली भन्ने बित्तिकै मामाघर भन्ने हुन्छ । मामाघर पितृत्वसँग जोडियो । संविधानले पितृत्व र मातृत्व एउटै हो भन्ने व्याख्या गरेको छ । त्यो कुरालाई यसले खण्डन गर्‍यो । यो गलत छ ।’

सांसद भट्टराईले गृह मन्त्रालयले संहिता र संविधानमा उल्लेख भएअनुसार आमाको नाम, थरमा नागरिकता दिने गरी पुनः परिपत्र गर्नुपर्ने धारणा राखिन् ।