सुर्खेत । राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयले मानव अधिकार उल्लंघनकर्तालाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह गरेको छ ।
आयोगले कर्णाली प्रदेशका प्रमुख राजनीतिक दल र प्रदेश संयन्त्रहरुलाई पत्राचार गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मानव अधिकारमैत्री गराउन मानव अधिकार उल्लंघन गर्ने व्यक्तिहरुलाई उम्मेद्वार नबनाउन आग्रह गरिएको कार्यालयका प्रमुख बुद्धनारायण साहनीले जानकारी दिए ।
कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा मानव अधिकार उल्लंघनकर्ता भनि आयोगले किटान गरी नाम सार्वजनिक गरेका व्यक्तिहरुलाई निर्वाचन उम्मेद्वार नबनाउन भनिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनकर्ता भनि सिफारिस गरिएका व्यक्तिहरुको सूचि आयोगले २०७७ असोजमा प्रकाशन गरेको ‘आयोगको २० वर्ष : २०५७ जेठ २०७७ असार’ मा रहेको हुनाले उक्त प्रकाशन आयोगको वेवसाइटबाट डाउनलोड गरि प्राप्त गर्न सकिने प्रेस नोटमा उल्लेख छ ।
निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारी तयार गर्न, निर्वाचन प्रचार प्रसारको क्रममा आयोजना गरिने कार्यक्रममा बालबालिकाहरुको प्रयोग नगर्न, निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रममा घृणा, द्धैप फैलने जस्ता अमर्यादित किसिमका शब्दहरु कोही पनि उम्मेद्वार तथा नेतृत्वबाट व्यक्त नगर्न, निर्वाचन आयोगबाट जारी अचारसंहिता विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयहरुलाई प्राथमिकता साथ पालना गर्न आयोगले अनुरोध गरेको छ ।
आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन कर्णाली प्रदेशका सबै राजनितिक दलहरु, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्यवेक्षणकर्ता र मतदाता समेतलाई अनुरोध गरेको छ । निर्वाचन मानव अधिकारमैत्री वातावरणमा सम्पन्न हुने पनि आयोगले अपेक्षा समेत गरेको छ ।
फरकबाटो १६ चैत्र २०७८, बुधबार १७:३६