नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ ।

मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५७ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २१, दीलिप नाथले नटआउट १५ र रोहत पौडेलले १२ रन बनाए । बलिङतर्फ मलेसियाका पवनदीप सिंहले दुई विकेट लिए । यस्तै मोहम्मद अमिर र सइद अजिजले एक÷एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायो । मलेसियाका लागि जुबैदी जुलकिफ्लीले ३२ र कप्तान अहमद फैजले २४ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए । यस्तै अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।

यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो ।

नेपालले तेस्रो खेलमा भोलि पीएनजी र चौथो खेलमा आउँदो शनिवार मलेसियासँग फेरि खेल्नेछ । दुईमा दुई जितसहित नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो सोमवार हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।