
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका लागि मतदाता नामावली र निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ ।
आज निर्वाचन मण्डलले मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
संघको कार्यालयमा असन्तुष्ट व्यवसायीहरुले तालावन्दी गरेपछि निर्वाचन प्रयोजनका लागि बुद्धपथमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनका लागि उत्तम आचार्य, नन्द भण्डारी र भानुभक्त गौतम सम्मिलित निर्वाचन मण्डल पनि गठन भएको छ ।
निर्वाचन मण्डलका सदस्य आचार्यले मंगलवार निर्वाचनका लागि २०१४ जना मतदाताहरुको नामावली सार्वजनिक गरिएको बताए । अव निर्वाचनमा २०१४ जनाले मात्र मतदान गर्न पाउनेछन् ।
यस्तै यही चैत २० गते उम्मेदवारी दर्ता, दावी विरोधसहित फिर्ता र अन्तिम नामावली प्रकाशन चैत २१ गते गरिनेछ । चैत २४ गते राती १२ बजेसम्म उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउनेछन । निर्वाचन मण्डलका सदस्य आचार्यले चैत २४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुने बताए ।
मतदान चैत २६ गते विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ । मतदान स्थलको टुंगो नलागे पनि सिटी हलमा हुन सक्ने उहाँको भनाइ छ ।

फरकबाटो १५ चैत्र २०७८, मंगलवार १६:५१