जुम्लामा पुरुषभन्दा महिलामा आँखाको समस्या बढी

जुम्ला । जुम्लामा पुरूषको तुलनामा महिलामा आँखाको समस्या बढी पाइएको छ। हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, सिबिएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा सञ्चालन गरिएको शिविरमा आउनेमध्ये महिलामा आँखाको समस्या बढी देखिएको हो।

शिविरमा १ हजार ३६० जनाले आँखा परीक्षण गराएका थिए। जसमध्ये १२१ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीले जानकारी दिए। तीमध्ये ५९ पुरूष र ६२ जना महिला छन्। शिविर ज्येष्ठ नागरिकलाई लक्षित गरी राखिएको हो।

नेत्र अधिकृत योगीका अनुसार जुम्लाको शिविरमा मात्र नभइ विभिन्न अध्ययनले पनि महिलामा आँखासम्बन्धी समस्या बढी देखिएको छ। महिलाहरू धुलोधुवाँसँग सम्बन्धित काम बढी गर्ने भएकाले उनीहरूमा आँखाको समस्या देखिने उनले बताए।

हिमालय आखा अस्पताल पोखराले लामो समयदेखि वर्षको दुईपटक आँखा शिविर आयोजना गर्दै आएको छ।