जुम्लाको पाटनमा हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किए, केही आज फर्किँदै

जुम्ला । जुम्लाको पाटनमा जडीबुटी खोज्न जाँदा हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किएका छन् । फसेका ३५ जनामध्ये अहिलेसम्म १४ जना फर्किएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जानकारी दिए ।

बाक्लो हिउँ परेपछि फसेका उनीहरु हिजो घाम लागेर हिउँ पग्लिएपछि फर्किएका हुन् । बाँकी केही आज फर्किने तयारीमा रहेका छन् । भेडा तथा जडीबुटी समेत रहेका केहिले भने तत्काल फर्कने इच्छा नदेखाएका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । उनीहरु तातोपानी गाउँपालिका वडा नम्बर ८ मा रहेको गाग्रा, ऐडी ओडार र खोटेसल्लामा बसेका छन् । बाक्लो हिमपातपछि अस्ति उद्धारका लागि गएको हेलिकप्टर अवतरण हुन नसकेपछि खाद्यान्न खसालेर फर्किएको थियो ।