वीरेन्द्रनगरमा संयुक्तरुपमा मासु पसलहरुको अनुगमन

सुर्खेत । वीरेन्द्रनगरमा मासुपसलहरुको अनुगमन गरिएको छ । दशैं तिहारको समयमा मासु विक्रि वितरण बढ्ने भएकाले उपभोक्ताहरुको हित संरक्षणको लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण निर्देशनालय खाद्य तथा गुणस्तर कार्यालय सुर्खेत लगायतका कार्यालयका प्रतिनिधिहरुको संयुक्त टोलीले वीरेन्द्रनगरका मासु पसलहरुको अनुगमन गरिएको हो ।

चाडपर्वको बेलामा उपभोक्ता ठगिने, गुणस्तरहिन मासु विक्रि वितरण हुन सक्ने भन्दै वीरेन्द्रनगर भित्र रहेका २६ वटा मासु पसलहरुको अनुगमन गरिएको वीरेन्द्रनगर नगरपालिका उद्योग शाखा प्रमुख टंक प्रकाश लामिछानेले जानकारी दिए ।

अनुगमनका क्रममा विगतका बर्षहरुभन्दा मास पसलहरुमा धेरै सुधार भएको भन्दै लामिछानेले आम उपभोक्ता पनि आफुले उपभोग गर्ने वस्तुहरुको बारेमा जानकार हुनुपर्ने सुझाव दिए ।

नापतौलका सामग्री नीयम अनुसार प्रयोग नभएको, खशी र कुखुराको मासु एउटै पसलबाट विक्रि वितरण भइरहेको, लामो समयसम्म मासुलाई डि फ्रिजमा राख्ने गरिएको भेटिएको भन्दै आगामी दिनमा यस्ता क्रियाकलापहरु सुधार गर्न सुझाव दिइएको थियो ।

त्यसैगरी, सरसफाईमा ध्यान दिनुपर्ने, मासु ढाकछोप गरेर राख्नुपर्ने, व्यवसाय दर्ता गरेर संचालन गर्नुपर्ने, दर्ता नभए सम्बिन्धित कार्यालयमा गएर दर्ता गराउनुपर्ने लगायतका सुझाव दिइएको हो।

अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर गर्ने खालको रङ प्रयोग गरिएको एक किलो मासु समेत जफत गरि नष्ट गरिएको छ ।

खाद्य तथा गुणस्तर कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले दशैं तिहारमा हुन सक्ने अखाद्य वस्तुको मिसावट, उपभोक्ता ठगी गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताए । यस सन्दर्भमा बजार अनुगमन र व्यापारीहरुलाई पनि बारम्बार निर्देशन दिने गरिएको उनले जानकारी दिए ।

मासु व्यवसायिहरुले भने आफुहरुले सकेसम्म ताजा मासु बेच्ने गरेको भन्दै बधशालामा लिएर खशि, रागा काट्न टाढा र झन्जिटिलो भएको बताएका छन ।