सुर्खेतमा बेवारिसे बम विस्फोट, दुई जना घाइते

सुर्खेत । सुर्खेतमा बम विस्फोट हुँदा दुईजना घाईते भएका छन् । वीरेन्द्रनगर ७ कटकुवा सामुदायिक बनमा बेवारिसे अवस्थामा रहेको बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बम विस्फोट हुँदा दैलेखको गुराँस गाउँपालिका वडा नं ६ का २१ बर्षिय लिला नेपाली र १४ बर्षिय नरेश परियार घाइते भएका छन् । कार्यालयका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तिले उनीहरु घाँस दाउरा गर्न गएको समयमा बम विस्फोट भएको जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । बिहान करिब दश बजेर ४५ मिनेटमा बम विस्फोट भएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।