मधेस प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित


सुर्खेत । मधेस प्रदेश सभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

प्रदेश सभाको आज मङ्गलवारको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित सांसद सङ्ख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गरेका थिए । । उनको विपक्षमा २९ मत परेको छ । माओवादी छोडेर एमाले रोजेका मण्डल धनुषा क्षेत्र नम्बर १ (ख) बाट विजयी भएका हुन् ।

मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए ।

सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा थिए । उनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो ।

बैठक अहिले ६ बजेसम्मका लागि स्थगित गरिएको छ । त्यसपछि बस्ने बैठकबाट आजै उपसभामुखको चुनाव गरिने सभाध्यक्ष गोविन्दबहादुर न्यौपानेले प्रदेश सभालाई जानकारी गराएका थिए ।