एनआरएनएको १० औँ महाधिवेशन चैत १० र ११ गते काठमाण्डाैमा

काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औँ महाधिवेशन चैत १० र ११ काठमाण्डौमा हुने भएको छ । आज मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत महाधिवेशन गर्ने एनआरएनएले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैरआवासीय एकताबद्ध रहने दाबी गरे । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका निम्ति प्रभावकारी भूमिका खेल्ने पनि बताए । अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको जानकारी दिए ।

त्यस्तै अध्यक्षका उम्मेदवार डा। बद्री केसीले अहिलेको अवस्थामा संस्थामा सहमति गर्नुबाहेक अन्य कुनै विकल्प नभएको बताए । उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरू मिलेर संस्थालाई अघि बढाउने बताए ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैरआवासीय नेपालीहरूले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको बताउ । त्यस्तै अध्यक्ष पदकी प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरूलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन् ।