पार्टीबाट राजीनामा दिएका विष्टलाई तीन दिनभित्र राजीनामा फिर्ता लिन निर्देशन

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले पार्टीका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई नियमित कामकाजमा फर्कन निर्देशन दिएको छ ।

बिहीबार दल नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले उनलाई अबको तीनदिन भित्रै राजीनामा फिर्ता लिई पार्टीको कार्यमा फर्कन निर्देशन दिएको हो ।

विष्टले गत फागुन २७ गते प्रदेशसभा सदस्य, प्रमुख सचेतक र पार्टीबाट राजीनामा दिएका थिए । पुर्व मन्त्री एवं माओवादी केन्द्रका नेता नरेश भण्डारीले भने,‘ उहाँले (विष्ट)दलमा दिएको राजीनामा अबको तीन दिनभित्र फिर्ता लिन निर्देशन गरिएको छ । साथै उहाँलाई पत्र समेत लेखिसकिएको छ।’
साथै संसदीय दलले प्रदेशसभालाई प्रभावकारी बनाउनका लागि दलले खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरेको छ ।

त्यस्तै आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीमा जनलहर सिर्जना गर्न र पहिलो शक्तिको रुपमा स्थापित गर्नका लागि प्रदेशसभा सदस्यहरुलाई आ–आफ्नो निर्वाच क्षेत्रमा खट्न आग्रह गरिएको छ ।

भण्डारीले भने,‘सरकारका कामकारबाहीलाई प्रभावकारी तरिकाले परिणाम मुखी तरिकाले बनाउनका लागि आवाश्यक सहयोग गर्ने पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई जनपक्षिय रुपमा काम गर्न निर्देशन गर्ने निर्णय पनि भएको छ भने रिक्त रहेको प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिमा प्रदेशसभा सदस्य कृष्णा शाहलाई पठाउने निर्णय गरिएको छ।’