६ महिनापछि एकदिवसीय खेल्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली हाल यूएईमा छ । तेस्रो सिरिजमा नेपालले घरेलु टोली यूएई तथा पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्ने छ ।

आज (मंगलबार) बाट सुरु भएको सिरिजमा पहिलो दिन यूएई र पीएनजी भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेल बुधबार पीएनजीसँग खेल्ने छ । मैत्रीपूर्ण खेलहरु खेलेपनि नेपालले यूएई र पीएनजीसँग लिग दुईमा पहिलो पटक खेल्न लागेको हो ।

नेपाल पछिल्लो समय टी–ट्वान्टी क्रिकेटमा निकै व्यस्त थियो । नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट नखेलेको छ महिना पुगिसकेको छ । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।

त्यसयता नेपालले घरेलु क्रिकेटमा समेत ५० ओभरको खेल खेलेको छैन । घरेलु क्रिकेटको एक मात्र ५० ओभरको प्रतियोगिता प्रधानमन्त्री कप (पीएम कप) समेत आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारी भन्दै टी–ट्वान्टी फर्म्याटमा खेलिएको थियो ।

नेपाली खेलाडी लामो समय टी–ट्वान्टी फर्म्याटमा अभ्यस्त हुँदा यो सिरिज नेपालको लागि चट्टान सरह रहने छ । लामो समयदेखि टी–ट्वान्टी खेल्दै आएका नेपाली खेलाडीले ५० ओभरमा आफुलाई ढाल्न संघर्ष गर्नुपरेको गत साता श्रीलंकामा खेलिएको अभ्यास खेललाई लिन सकिन्छ ।

नेपालले श्रीलंकामा लिग दुई अन्तर्गतको सिरिजको तयारी भन्दै ४ अभ्यास खेल खेल्यो । जसमा नेपालले ३ खेल जित्यो र अन्तिम खेलमा पराजित भएको थियो ।

श्रीलंकाको फस्ट क्लास क्रिकेट टोलीसँग समेत नेपाल ब्याटिङमा संघर्ष गरेको थियो । चार खेलमा नेपाल मात्र एक खेलमा पुरै ओभर ब्याटिङ गर्न सकेको थियो भने तीन खेलमा नेपाल निर्धारित ओभरसम्म टिक्न समेत सकेन । एकदिवसीय अन्तराष्ट्रिय फम्र्याटमा हुने खेलमा नेपाललाई घरेलु टोली यूएईको ठूलो चुनौती रहने छ ।

पछिल्लो समय यूएई राम्रो लयमा छ । उसका ब्याटरहरु खुलेर खेल्दै आइरहेका छन् । यूएईले खेलेको लिगको अन्तिम खेलमा उसका दुई ब्याटरले शतक प्रहार गरेका थिए । १९ वर्षीय वृत्य अरविन्द यूएईका मुख्य ब्याटरको रुपमा स्थापित हुँदै छन् जो नेपालको लागि टाउको दुखाइको विषय बनेको छ ।

अरविन्दले यूएईको लागि मात्र २८ अन्तराष्ट्रिय खेल (एकदिवसीय र टी ट्वान्टी) मा ८ सय ६७ रन बनाइसकेका छन् । उनै अरविन्दको आक्रामक ब्याटिङको कारण नेपाल गत महिना आईसीसी टी–ट्वान्टी विश्वकप खेल्नबाट बन्चित भएको थियो । अरविन्दले १५ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दा १ शतक तथा १ अर्धशतक समेत बनाएका छन् ।  यूएईले लिग दुईको पछिल्लो ९ खेलमा ६ जित निकालेको छ भने १ खेल बराबरी हुँदा मात्र २ खेलमा पराजित भएको छ ।

गत महिना ओमानमा भएको आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा समेत टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै विजेताको रुपमा विश्वकपको लागि छनोट भएको थियो । पीएनजी भने खराब फर्मबाट गुज्रिरहेको छ ।

पीएनजीले खेलेको पछिल्लो १६ एकदिवसीय खेलमा जित निकाल्न सकेको छैन । लिगमा समेत पीएनजी पहिलो जितको खोजीमा रहेको छ । नेपालले पीएनजीसँग २ पटक एकदिवसीय अन्तरष्ट्रिय खेल खेलेको छ ।

गत भदौमा नेपालले पीएनजीसँग ओमानमा २ मैत्रीपूर्ण एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा नेपालले पीएनजीलाई दुवै खेलमा सहजै पराजित गरेको थियो ।

यस्तै नेपालले यूएईसँग हालसम ४ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा नेपाल २ खेलमा जित निकाल्न सफल भएको छ भने २ खेलमा पराजित भएको थियो ।

सन् २०१९ मा यूएईको मैदानमा ३ खेलको मैत्रीपूर्ण सिरिजमा नेपालले यूएईलाई अन्तिम २ खेलमा पराजित गर्दै पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्न सफल भएको थियो ।

लिग दुईमा नेपालले ८ खेलमा ४ जित निकाल्न सफल छ । ४ खेल हारेको नेपाल ८ अंकका साथमा अंक तालिकाको छैठौं स्थानमा छ । लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ ।

यस्तै १४ खेलमा ७ जित र १ बराबरीका साथ १६ अंक जोडेको यूएई तालिकाको तेस्रो स्थानमा छ ।  यता पीएनजी १२ खेलमा १२ हार व्यहोर्दै बिना कुनै अंक तालिकाको पुछारमा रहेको छ । यस सिरिज अघि नेपालले विश्वकप लिग दुई अन्तर्गतको दुई सिरिज खेलिसकेको छ ।

पहिलो सिरिज नेपालले घरेलु मैदानमा अमेरिका र ओमानलाई आतित्यथा गरेको थियो । सिरिजमा नेपालले अमेरिकालाई दुई खेलमा पराजित गर्दा ओमानसँग दुवै खेलमा पराजित भएको थियो । उक्त सिरिजनै नेपालले घरेलु मैदानमा खेलेको एकदिवसीय अन्तराष्ट्रिय पहिलो थियो ।

दोस्रो सिरिजमा नेपालले ओमानमा पुनः अमेरिका र ओमानसँग खेलेको थियो । ओमानमा समेत नेपालले ४ खेलमा २ जित हात पार्दा २ खेलमा पराजित भएको थियो । ओमानमा नेपालले एक–एक पटक ओमान र अमेरिकालाई पराजित गरेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग दुईमा ७ राष्ट्र रहेका छन् । सबै राष्ट्रले एकआपसमा ३२ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै लिग दुई टुंगाउने छन् । लिग सकिंदा शीर्ष तीन स्थानमा रहने राष्ट्र सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको लागि छानिने छन् भने पुछारका चार राष्ट्रले विश्वकप छनोटको क्वालिफायर्स खेल्नु पर्ने छ ।