एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा श्रीलंकाविरुद्ध नेपालको सानदार जित

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा साविक विजेता नेपालले विजयी शुरूवात गरेको छ ।

बंगलादेशको ढाकामा बिहीबारदेखि शुरू भएको प्रतियोगिताअन्तर्गत रोमाञ्चक खेलमा नेपालले दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा हरायो ।

श्रीलंकाले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै २–० को अग्रता बनाएको थियो। तर त्यसपछि नेपालले सानदार पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

नेपालले तेस्रो सेट २५–१५ ले जित्दै खेलमा पुनरागमन ग¥यो । नेपालले चौथो सेट २५–१९ले जितेपछि खेल अन्तिम सेटसम्म लम्बिएको थियो ।
निर्णायक तथा अन्तिम सेट १५–१३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो ।

यस्तै  च्याम्पियनशिपमा नेपाली पुरुष टोली पराजित भएको छ । बङ्गलादेशसँग भएको पहिलो खेलमा नेपाल तीन–शून्यको सोझो सेटमा पराजित भएको हो । नेपाल बङ्गलादेशसँग २५–१७, २५–१७ र २५––१९ को सेटमा पराजित भएको हो ।

अब नेपालले दोस्रो खेलमा भोलि शुक्रवार उज्वेकिस्तानसँग खेल्नेछ ।