राजनीतिक दलहरु चुनाव केन्द्रित अभियानमा जुटे


सुर्खेत । स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु पछिल्लो समय चुनाव केन्द्रित अभियानमा जुटेका छन् । स्थानीय तहको चुनाव आउन अब दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका हुन् । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरेको छ ।

दलहरु पछिल्लो समय गाउँघर केन्द्रित भएका छन् । दलहरुबिच गाउँगाउँमा आम सभा, प्रशिक्षण र पार्टी प्रवेश गराउने लहर चलेको छ । शहरहरुमा पनि आम सभा आयोजना हुन थालेका छन् ।

कर्णाली प्रदेशमा पछिल्लो समय केन्द्रीय नेताहरु चुनाव केन्द्रित कार्यक्रमहरुमा आउने क्रम पनि बढेको छ । नेपाली कांग्रेसले हिजोदेखि एक महिनासम्म चुनावी अभियान सुरु गरेको छ । चुनावी अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ । काँग्रेसले चुनावी अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ ।

यस्तै नेकपा एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम सुरु गरिसकेको छ । वडा तहसम्म चुनाव केन्द्रित  अभियान थालेको छ । एमालेका केन्द्रदेखि वडा तहसम्मका नेताहरू केही दिनदेखि चुनावी अभियानमा व्यस्त देखिएका छन् ।

नेकपा माओवादी केन्द्र पनि चुनावी अभियानमै व्यस्त छ । केही दिन अघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु सुर्खेतमा आयोजित कार्यक्रममा सहभागि भएका थिए । माओवादी केन्द्रका नेताहरु पनि पनि वडातहसम्म चुनावी कार्यक्रममै व्यस्त छन् ।

एकीकृत समाजवादी  पनि चुनावी अभियानमै व्यस्त छ । गाउँगाउँमा चुनाव केन्द्रित अभियान भइरहेको एकीकृत समाजवादीले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि चुनावी अभियानमा जुटेको छ । केही दिन अघि राप्रपाले वीरेन्द्रनगरमा आम सभाको आयोजना गरिएको थियो । आम सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायत केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।