
सुर्खेत । यो वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो । नेपालको अरु भू–भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने देखिएको महाशाखाले निकालेको विशेष बुलेटिनमा उल्लेख छ ।
नेपालमा जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।
अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला मनसुन भित्रिएसँगै केही राहतसमेत भएको छ । आज सबैभन्दा धेरै धनगढीमा ४०.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
सबैभन्दा कम ताप्लेजुङमा २५.४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । तराई क्षेत्रमा पनि तापक्रम घट्दै गएको छ ।

फरकबाटो ३१ जेष्ठ २०८०, बुधबार १९:२१