कर्णाली प्रदेशका सांसद ठम्मर विष्टद्वारा माओवादी केन्द्र छोडेको घोषणा

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए ।

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजिनामा दिएको बताए । उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफुले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए ।

पार्टी भित्र रचनात्मक आलोचनामार्फत् पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दापनि सफल हुन नसकेको उनले बताए । उनले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए ।