कालीकोटमा जीप दुर्घटना ६ जनाको मृत्यु


सुर्खेत । कालीकोटको पलाँता गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरको जीप साढे २ बजेतिर पलाँता–३ राडुनेटामा दुर्घटनामा परेको हो । जीप सडकबाट भीरमा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा पलाँता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता–५ की छाया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकाया रहेका प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।