काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ।
आज बिहान बसेको एशोसिएशनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिँदैन।’
निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार सर्वोच्च प्रशासनमा फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए। यो खबर सार्वजनिक भएपछि नेपाल बारले आज आकस्मिक बैठक बोलाएको थियो। त्यसपछि सत्ता गठबन्धन पक्षधर वकिलहरू सर्वोच्चको गेट वरपर बाक्लो रुपमा उपस्थित भएका छन्।
सर्वोच्च अदालतको मुख्य गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद कोइरालाले प्रधानन्यायाधीश जबरा सर्वोच्च छिर्न नमिल्ने बताउँदै आएका छन्।
फरकबाटो २ आश्विन २०७९, आईतवार ११:३२