दुर्घटनाले रित्तियो काख,आमाका रहेनन् सहारा

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ की दुर्गादेवी राना श्रीमान साथ नभएपछि  दुई छोराछोरीको लालनपालन गरेर बसेकी थिइन् ।

आर्थिक अवस्था कमजोर भएकाले छोरा र छोरीसहित आफन्त(नन्द)को घरमा बस्दै आएकी थिइन, उनी । छोराछोरी जागिरे भएपछि अलि सुखको सास फेर्न थालेकी थिइन् ।

छोरा रवीन चार वर्षअघि नेपाली सेनामा भर्ती भए । ३२ वर्षीय छोरी रानी १५ वर्षदेखि गाउँकै (छिन्चु बोर्डिङ स्कुल) स्कुलमा पढाउन थालेकी थिइन् । दुःखी जीवन बदलिँदै थियो । छोरा र छोरी सहारा बनिसकेका थिए ।

तर, यो वर्षको तिहार उनको जीवनमा दशा बनेर आयो । सवारी दुर्घटनामा दुवै दिदीभाइको मृत्यु भयो । दुर्घटनामा उनीहरूको ज्यान मात्र गएन्, एउटी आमाको काख रित्तियो, सहारा खोसियो ।

घटना भएदेखि दुर्गादेवीका आँखा ओभाना छैनन् । घटना भएदेखि नै अचेत अवस्थामा छिन् । आइतबार राति उपचारकै क्रममा छोरीको पनि मृत्यृ भएपछि उनको जीवनमा ठूलो ब्रजपात परेको छ । घरमा चुल्होसमेत बोलेको छैन् । स्थानीय कुमार पुन भन्छन्, ‘घरमा रुवावासी छ । घटना भएदेखि आमाले राम्रोसँग खानासमेत खानु भएको छैन् । उहाँ बोल्न सक्ने अवस्थामा पनि हुनुहुन्न ।’

उनका अनुसार रवीन तिहारको बिदा लिएर घर आएका थिए । कात्तिक १८ गते भाइटीकाको लागि समान किनमेल गर्न जाँदा दुवै दिदीभाइ स्कुटीमा वीरेन्द्रनगर आउँदा भेरी पुल नजिक ट्रकले ठक्कर दिएको थियो ।

उनीहरू सवार कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटरलाई कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको उक्त ट्रकले ठक्कर दिएको थियो । सोही दिन रवीनको घटनास्थलमै मृत्यु भयो । दिदी रानीको उपचारको क्रममा आइतबार राति कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो ।

कुमार पुनले भने , ‘घरको आर्थिक अवस्था कमजोर थियो । बुबा पनि हुनुहुन्थेन् । उनीहरू आफन्तकोमा बसेका थिए । रानीले मेरो स्कुलमा पढाउँथिन् । सबै राम्रै हुँदै गएको थियो । एक्कासी यो घटनाले हामी सबैलाई दुःखी बनाएको छ ।’

रवीनले गएको दशैँमा भागी विवाह गरेका थिए । उनले पुसाइको निधन भएकाले घर लिन पाएका थिएनन् । पुसाइ बितेको एक वर्षपछि मात्रै श्रीमती घर भित्र्याउने तयारी उनको थियो । छिन्चु बजारमै कोठा लिएर राखेका थिए । वर्ष दिन पुगेपछि घर भित्र्याउने तयारी गरेका थिए । रवीनको मृत्यु भएपछि उनी पनि अचेत अवस्थामा छिन् ।

आफन्त आन्दोलित

दिदीभाइको दुर्घटनामा परेर मृत्यु भए पछि आफन्तले आन्दोलन गर्दै आएका छन् । ट्रक चालकलाई पक्राउ गरेर कार्वाहीको माग राखेर आफन्तहरुले छिन्चु बजारमा आन्दोलन गरेका हुन् । घटना घटेको पाँच दिन भइसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।