काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन् । आज बुधवार त्रिशूली नदीमा भएको १९ औँ हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छदफल गरिरहेको बताए । उनले खेललाई मनोरञ्जनको रूपमा मात्रै नभएर उद्यमसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

नेपाललाई समृद्ध बनाउने महत्त्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रूपमा विकास गर्नुपर्ने बताए । र्याफ्टिङ लगायत अन्य जलाशययुक्त खेलमा काठमाण्डोबाट नजिकमा रहेका त्रिशूली, सुनकोसी र भेटेकोसीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने उनले बताए । मन्त्री गहतराजले र्याफ्टिङ जस्ता पानीमा खेल्ने अन्य खेललाई सरकारले लगानी बढाउनुपर्ने बताए ।
उनले भने, ‘नेपाल जलस्रोतको हिसाबले विश्वको दोस्रो धनी राष्ट्र हो । प्राकृतिक हिसाबले विश्वको १७ औँ धनी राष्ट्रमा पर्छ । र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्न सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरेर अगाडि बढ्छौँ ।’
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) डा. धनञ्जय रेग्मीले र्याफ्टिङ एक साहसिक खेल भएकाले खेलाडीको क्षमता विकास गर्दै जानुपर्ने बताए । उनले र्याफ्टिङ खेलाडीको क्षमता विकासका लागि पर्यटन बोर्डले आर्थिक सहयोग गर्दै आएको र आउँदा दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । डा. रेग्मीले धेरै देशले नेपालको सिको गरिरहेको बताए । उनले नेपालमा र्याफ्टिङ गर्ने सक्ने नदीहरूलाई राम्रोसँग प्रयोग गर्न नसकेको दाबी गरे ।
त्यस्तै पर्यटन अभियन्ता मेघ आलेले त्रिशूली नदीमा कोरोना महामारीपछिको पहिलो (१९ औँ) हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशिप भएको बताए । उनले त्रिशूली नदीबाट र्याफ्टिङ मात्रै नभएर रिभर पर्यटनको सुरुवात भएको बताए । तर अहिले त्रिशूली नदीमा रिभर पर्यटनका लागि अरबौँ रुपैयाँको लगानी भए पनि र्याफ्टिङका लागि महत्त्वपूर्ण ठाउँमा विद्युतीय ड्याम बनाउने योजनाले समस्या आएको बताए । र्याफ्टिङ क्षेत्रमा सुपर त्रिशूली हाइड्रोपावर बनाउनु उचित नभएको उनले तर्क दिए ।
कार्यक्रममा र्याफ्टिङ खेलाडी हरि आलेले त्रिशूली नदीको संरक्षण नभएर नदीलाई दूषित बनाउने काम भएकाले र्याफ्टिङ गर्ने वातावरण नभएको बताउनुभयो । उनले र्याफ्टिङ क्षेत्रमा विद्युतीय ड्याम बनाउने काम भइरहेकाले र्याफ्टिङ खेलाडीको भविष्य नै समाप्त हुने गुनासो गरे ।

फरकबाटो २६ फाल्गुन २०७८, बिहीबार १७:४५