कर्णालीमा स्वास्थ्य बीमा गर्नेको संख्या तीन लाख बढी


सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म तीन लाख बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेशका अनुसार कर्णालीमा हालसम्म तीन लाख दुई हजार ३०९ जनाले स्वास्थ्य बीमा गरेका हुन् ।

सुर्खेतमा ६० हजार २९१, रुकुमपश्चिममा ५९ हजार ९१३, जुम्लामा ५६ हजार ६९३ जना र कालिकोटमा ४० हजार ६४२ जनाले स्वास्थ्य बीमा गरेका छन् । जाजरकोटमा ४२ हजार २१५, हुम्लामा १३ हजार ९११, दैलेखमा १३ हजार ९४४, सल्यानका सात हजार ३३८, मुगुसमा ४ हजार ९५५ र डोल्पा दुई हजार ४०८ जनाले स्वास्थ्य बीमा गरेका जनाइएको छ ।

स्वास्थ्य बीमा बोर्डका कर्णाली प्रदेश संयोजक अर्जुन पण्डितले स्वास्थ्य बीमा गर्नेको दर बढ्दो रहेको बताए । सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक वर्ष भएकाले कम देखिएको उनको भनाई छ । स्वास्थ्य बीमामार्फत औषधि उपचारमा सहज हुने हुँदा गर्न आवश्यक रहेको बताए । उनले दुई लाख बढीले स्वास्थ्य बीमामार्फत सेवा लिएको जानकारी दिए । कर्णालीमा ७९ हजार ८५८ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको उनको भनाई छ ।

उनले नागरिकहरुमा स्वास्थ्य बिमाको महत्व बारे प्रचारप्रसार भएकाले विस्तारै दर बढ्दै गएको बताए । केही स्वास्थ्य सेवा प्रदायक संस्थामा औषधि प्रर्याप्त नहुनु, जनशक्ति कमी नहुने समस्याले स्वास्थ्य बीमाको नविकरणमा केही ठाउँमा चासो नदिएको पाइएको उनको भनाई छ । उहाँका अनुसार नविकरण गर्ने दर रहेको ७० प्रतिशत रहेको छ । उहाँले प्रदेश अस्पताल, रुकुमपश्चिमको चौरजहारी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका सेवा प्रदायक संस्थाहरुमा राम्रो सेवा भएकाले त्यहाँबाट स्वास्थ्य बीमाबाट बीमितले लाभ लिएउको जानकारी दिए ।

कर्णाली प्रदेशमा २०७४ असार १५ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । हाल कर्णालीका दश वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । प्रदेश संयोजक पण्डितका अनुसार स्वास्थ्य बीमामा आवद्ध हुनका लागि पाँच जना सदस्य रहेको परिवारले वार्षिक तीन हजार पाँच सय शुल्क बुझाउनु पर्छ । र पाँच सदस्य भन्दा बढी भएका परिवारले प्रति सदस्य अतिरिक्त सात सय बुझाउनुपर्छ ।

स्वास्थ्य बीमामार्फत तोकिएको स्वास्थ्य संस्थाबाट एक लाख र पाँच जना भन्दा बढी सदस्य रहेको हकमा क्रमशः २० हजार औाष्धि उपचार थपिदै जाने र अधिक्त्तम दुई लाख रुपियाँसम्मको उपचार सेवा पाउँछन् ।