
सुर्खेत । सुर्खेतमा प्रहरीको कुटपिटबाट कालीकोटका कृष्ण हमालको मृत्यु भएको भन्दै उनका आफन्तहरु आन्दोलित भएका छन् ।
शुक्रबार साँझ नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा मादक पदार्थ सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको र कुटपिटका कारण हमालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । हमाललको शनिबार बिहान सुर्खेत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।
प्रहरीको कुटपिटका कारण मृत्यु भएको भन्दै आफन्तहरुले अहिले वीरेन्द्रनगर बजारमा आन्दोलन सुरु गरेका छन् । यस्तै सुर्खेत अस्पतालले विज्ञप्तिमार्फत अस्पताल ल्याउनु पूर्व नै मृत्यु भएको जनाएको छ । अस्पताल प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा शनिबार बिहान १०ः१५ मा दुई जना व्यक्तिहरुले बेहोस् भएको भनेर ल्याएको र चेकजाँच गर्ने क्रममा कुनै पनि जिवित चिन्हहरु –नाडीको गती, श्वास प्रश्वास र मुटुको धड्कन नभएको र अस्पताल ल्याउन पूर्व नै मृत्यु भएको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घटनाको विषयमा छानविन गर्नका लागि समिति बनाएर छानविन सुरु गरेको जानकारी दिए । उनले भने ‘प्रहरीले शुक्रबार साँझ कुटपिट गरेको भनेर भनिएको छ । आज अस्पताल लिएको र मृत्यु भएको भन्ने छ । हामीले समिति बनाएर छानविन सुरु गरेका छौँ । पीडित पक्षले जाहेरी दिनुहुन्छ । दोषि पाए कार्वाही गछौँ । ’

फरकबाटो २१ फाल्गुन २०७८, शनिबार १७:३६