संवैधानिक इजलास ५ महिनापछि आजदेखि सुरु

काठमाण्डाै । पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आज शुक्रवारदेखि सुरु भएको छ । आज कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको गठन गरेका छन् ।

संसदमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासको गठन गरेका हुन् । कायममुकायम प्रधानन्यायाधीश कार्कीले इजलासमा वरिष्ठतम् न्यायाधीश मीरा खड्का, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरेका छन् । यो इजलासमा सामान्यतया वरिष्ठताका आधारमा न्यायाधीशको चयन हुँदै आएको छ । संवैधानिक इजलासको पहिलो पेसीमा सामान्य प्रकृतिका मुद्दा मात्रै समावेश गरिएको छ ।

संविधानले सङ्घीय इकाइहरूबीचको विवाद, प्रदेश सभा र सङ्घीय संसद्का सांसद्हरूको अयोग्यतासम्बन्धी र चुनावसम्बन्धी विवाद तथा तीनै तहका व्यवस्थापिकाले बनाएका कानुन संविधानसँग बाझिएका विवाद हेर्ने अधिकार यो इजलासलाई छ । यो इजलास बस्न नसक्दा धेरै मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।

अहिले सर्वोच्चको संवैधानिक इजलासमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गरिएका मुद्दा, मधेस प्रदेशले सङ्घीय सरकारविरुद्ध दायर गरेका प्रादेशिक अधिकारसम्बन्धी मुद्दा, वामदेव गौतमको राष्ट्रिय सभामा गरिएको मनोनयनविरुद्धको मुद्दा, प्रतिनिधि सभा चुनावसम्बन्धी विवादलगायतका मुुद्दा छन् ।