वीरेन्द्रनगरमा एसइई परीक्षा लक्षित भर्चुअल कक्षा सञ्चालन


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अनलाइन तथा भर्चुअल सिकाई सहजीकरण केन्द्र स्थापना गरेर विभिन्न विद्यालयहरुका विद्यार्थीहरुका लागि पठनपानठमा सहजीकरण गरेको छ । नगरपालिकाले नगरका दश वटा विद्यालयमा सहजीकरण केन्द्रमार्फत एसइई परीक्षा लक्षित भर्चुअल कक्षा सुरु गरेको छ ।

शिक्षा, यूवा तथा खेलकुद शाखाका अनुसार बाल मन्दिर प्राथमिक विद्यालयमा सहजीकरण केन्द्रको स्थापना गरिएको छ । उक्त केन्द्रबाट शिक्षकको व्यवस्था गरेर भर्चुअल कक्षा सुरु गरिएको हो । नगरपालिका भित्र रहेका नेरा मावि पारे गाउँ, नेरा मावि रतुदेवीस्थान, मदरसा मदिना मावि, आनन्द मावि कृष्णगञ्ज, कोपिला मावि पर्सेनी, प्रभात मावि कोलडाँडा, हरिडिल भूमी मावि, नेरा मावि चिसापानी, नेरा मावि खजुरा, नेरा मावि नलखोलाका विद्यार्थीहरुलाई लक्षित गरेर अनलाइन कक्षा सुरु गरिएको हो ।

कोभिडको कारणले गर्दा कोर्ष नसकिएको, दरबन्दी पर्याप्त नहुँदा शिक्षक नभएका विद्यालयमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहजीकरण सिकाई केन्द्र स्थापना गरेर विद्यालयहरुमा बिहान र साँझका समयमा अनलाइन तथा भर्चुअल कक्षा संचालन गरिएको हो ।

यि विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयमा अनलाइनमार्फत पढाउन सुरु गरिएको हो । शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्र शर्माले दरबन्दी भएर पनि जनशक्तिको अभाव भएका माध्यमक तहका विद्यालयहरुमा लक्षित गरेर सुरु गरिएको जानकारी दिए ।

यि विद्यालयमा एसइई लाई लक्षित गरेर कक्षा संचालन गरिएको उनले बताए । विद्यालयमा पनि सम्बन्धी शिक्षकले सहजीकरण गर्ने गरी व्यवस्था गरिएको छ । उनले यि विद्यालयहरुमा ल्यापटप र स्मार्ट टिभिको व्यवस्था गरिएको जानकारी दिए । उनले अन्य विद्यालयमा पनि विस्तार गरिने बताए ।