निर्वाचनमा दलित महिलाहरुको अर्थपुर्ण सहभागिताका लागि पैरवी

सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा दलित महिलाहरुको अर्थपुर्ण सहभागिताका लागि पैरवी थालिएको छ । दलित महिला संघले अडान पत्र नै तयार गरी कार्यकारी पदमा दलित महिलाहरुलाई लैजानका लागि पैरवी थालेको हो ।

सोमबार करिब एकसय पचासजना दलित महिलाहरुको सहभागितामा वीरेन्द्रनगरमा बृहत संवाद कार्यक्रम समेत आयोजना गरिएको छ । साथै दलित महिलासंघले तयार पारेको अडानपत्र कर्णाली प्रदेश सभा सांसद राजु नेपालीलाई समेत बुझाईएको हो ।

अडान पत्रमा नेपालको संविधानले सुरक्षित गरेको दलितको अधिकार समेत प्रयोग गर्न नपाईरहेको अवस्थामा आगामी स्थानिय तहको निर्वाचनमा दलित महिलाहरुलाई कार्यकारी भुमीका दिनुपर्ने उल्लेख छ ।

संविधानले नै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको भएपनि अझैसम्म पनि कार्यान्वयन हुन नसकेको कार्यक्रममा सहभागी महिलाहरुले गुनासो गरे ।

उनीहरुले निर्वाचनमा दलहरुले दलित महिलाहरुलाई अगाडि सार्नुपर्ने भन्दै अवसर पाए सबैले काम गर्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सांसद राजु नेपालीले अझैपनि दलितलाई हेर्ने दृष्टिकोण बदलिन नसकेको बताईन् । उनले कर्णाली प्रदेश सरकारले दलित सम्बन्धि विधेयक सम्बन्धित मन्त्रालयमै लामो समयदेखी थन्काएको समेत आरोप लगाईन् ।

हरेक हिसाबमा पछाडि परेको दलित समुदायले अब राज्यसंग हिसाब खोज्ने बेला भएको उनले बताईन् ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले समग्रमा महिलाहरुले नेतृत्वको अवसर पाउने अवस्था निकै जटिल भएको भन्दै दलित महिलाहरुको अवस्था झनै नाजुक भएको बताईन् । ‘अब दलित महिलाहरुलाई वडा सदस्य मात्रै होइन वडा अध्यक्षको भुमीकामा लैजानुपर्छ’ उनले भनिन् “महिलाहरुको नेतृत्व लगनशिल मात्रै होइन भरोषा गर्न लायक हुन्छ ।”

उनले जहाँ जसरी भएपनि दलित महिलाहरुको आगामी स्थानिय तहको निर्वाचनमा अर्थपुर्ण सहभागिता हुनुपर्ने धारणा राखिन् ।

दलित महिला संघ सुर्खेतकी अध्यक्ष तथा केन्द्रिय उपाअध्यक्ष मञ्जु सुनारको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।