कर्णाली प्रदेशसभा : विभिन्न विधेयकहरु छलफलका लागि समितिमा पठाइयो


सुर्खेत । कर्णाली प्रदेशसभाको बुधबार बसेको नवौँ अधिवेशनको एघारौँ बैठकले विभिन्न विधेयकहरु थप छलफलका लागि विषयगत समितिहरुमा पठाएको छ ।

सिंजा सभ्याता संरक्षण तथा विकास विधेयक र कर्णाली प्रदेश सहकारी ऐन २०७५ पहिलो संशोधन गर्न बनेको विधेयक थप छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको हो ।

यस्तै बैठकले शान्ति तथा पुर्नस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । यि विधेयकहरुमा संशोधनको लागि सुचना परेकोले थप छलफलका लागि समितिहरुमा पठाइएको हो ।

यस्तै बैठकमा कर्णााली प्रदेश सभामा विनियोजन र आर्थिक अध्यादेश प्रतिस्थापन गर्न बनेको दुई वटा विधेयक पेश टेबुल भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले  बैठकमा कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयकको रुपमा कर्णाली प्रदेश विनियोजन २०७८ र आर्थिक अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयकको रुपमा रहेको प्रदेश आर्थिक विधेयक २०७८ टेबुल गरेका हुन् । दुवै अध्यादेश सभामा पेश भएर स्वीकृत भइसकेका थिए ।

यस्तै प्रदेशसभा बैठकमा प्रदेश सभा सचिवालय ऐन संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ । प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने छ ।