लुम्बिनीको जितमा नेरीको ह्याट्रिक

काठमाडौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपमा लुम्बिनी प्रदेशले जित हात पारेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले ललितपुर मेयर्स–११ लाई २ रनले पराजित गरेको हो ।

९५ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ९२ रन बनाउन सक्यो । मेयर्स–११ का लागि कञ्चन श्रेष्ठले सर्वाधिक २२ रन बनाईन् ।

कस्मिना कर्माचार्य २० रनमा अविजित रहिन् । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ४ विकेट हात पारिन् । नेरीले अन्तिम ओभरमा ह्याट्रिक पूरा समेत गरिन् ।

कृतिका मरासिनीले ३ विकेट हात पारिन् । सुस्मिता भुषालले दुई विकेट लिईन् । यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै ९४ रन जोड्यो ।

लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले सर्वाधिक ३१ रनको योगदान गरिन् । सरस्वती पुन २० रनमा अविजित रहिन् । नेरी थापा १५ रनमा आउट भईन् ।मेयर्स–११ का लागि सुमन खतिवडाले सर्वाधिक ३ विकेट हात पारिन् । सिला क्षेत्रीले एक विकेट लिईन् ।