टी–२० विश्व कप : न्युजिल्यान्डसँगको खेलमा आयरल्यान्डका जोश लिटिलको ह्याट्रिक

काठमाण्डाै । टी–२० विश्व कप क्रिकेटमा अहिले न्युजिल्यान्ड र आयरल्यान्ड खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय पारी खेले । आयरल्यान्डका जोश लिटिलले ह्याट्रिक विकेट लिए । उनले १८औँ ओभरमा तीन विकेट लिएका हुन् । दोस्रो बलमा केन विलियम्सन क्याच आउट भए ।

तेस्रो र चौथो बलमा जेम्श निसम र मिचेल सान्टनारल एलबीडब्लू आउट भए । यो विश्व कप समूह चरणमा श्रीलङ्कासँगको खेलमा यूएईमा स्पिनर कार्तिक मयाप्पनले ह्याट्रिक विकेट लिएका थिए । लिटल जारी विश्व कपमा ह्याट्रिक लिने दोस्रो खेलाडी हुन् । ब्रेटलीले २००७ को टी–२० विश्व कपमा बङ्लादेशविरुद्ध ह्याट्रिक लिँदै इतिहास रचेका थिए ।

गएको वर्ष टी–२० विश्व कपमा तीन वटा ह्याट्रिक भए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले इङ्ल्यान्ड, आयरल्यान्डका कर्टिस क्याम्फरले नेदरल्यान्ड्स तथा श्रीलङ्काका वानिन्दु हसरङ्गाले दक्षिण अफ्रिकासँगको खेलमा ह्याट्रिक गरेका थिए ।

आजको खेलमा आयरल्यान्डले जितका लागि १ सय ८६ रनको लक्ष्य पाएको छ । सुपर १२ को समूह ‘१’ मा शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न न्युजिल्यान्डलाई आजको खेल जित्नैपर्ने दबाब छ । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि अस्ट्रेलियाको एडिलेडमा हुनेछ ।

सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ४ खेलमा ५ अङ्कका साथ शीर्षस्थानमा छ । समान खेलमा ५ अङ्क नै भएको इङ्ल्यान्ड दोस्रो अस्ट्रेलिया तेस्रो स्थानमा छ । श्रीलङ्का ४ खेलमा ४ अङ्ककासाथ चौथो, आयरल्यान्ड ४ खेलमा ३ अङ्कका साथ पाँचौँ र अफगानिस्तान ४ खेलमा २ अङ्कसहित पुछारमा छ ।

हिजो भएको सुपर १२ समूह ‘२’ को एक मात्र खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ पद्धतिको आधारमा ३३ रनले हराएर सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । पाकिस्तानले अन्तिम खेल आइतवार बङ्लादेशसँग खेल्नेछ ।

पाकिस्तानले सेमिफाइनल खेल्न बङ्लादेशलाई फराकिलो अन्तरले हराउनुपर्छ भने आइतवार नै भारत र दक्षिण अफ्रिकाले खेल्ने खेलको नतिजामा पनि भर पर्नेछ । भारतले आइतवार जिम्बाब्वेसँग र दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग खेल्नेछ ।