ओली र प्रचण्डसँग गृहमन्त्रीको छुट्टाछुट्टै भेट

काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनमा सहमति जुटाउन गृहमन्त्री खाणले प्रचण्ड र ओलीलाई बिहान उनीहरुकै निवासमा पुगेर भेट गरेका हुन् । दुवै भेटमा गृहमन्त्रीले एमसीसी पारित गर्नको लागि सहयोग गर्न आग्रह गरेका थिए । भेटमा ओली र प्रचण्डले पुरानै अडान दोहोर्याएका छन् ।

ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनै पनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिएका छन् । हिजो बेलुकी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पनि ओलीले यही अडान राखेका थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् । सत्ता साझेदार दलकै अवरोधकाबीच सरकारले गएको आइतबार एमसीसीसँगको सम्झौता संसदमा टेबल गरिसकेको छ ।

सत्ता गठबन्धनका दलहरुबीच सहमति नभए विपक्षीको सहयोग लिएर भए पनि एमसीसी अनुमोदन गराउने प्रधानमन्त्री देउवाको तयारी छ । संसद बैठक भोलि बोलाइएको छ । आउँदो फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न सरकारलाई दबाब छ ।