जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्न प्रदेश सरकार तयार


सुर्खेत । डोल्पाको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्न प्रदेश सरकार तयार भएको छ । १०६ मेगावाट उक्त जलविद्युत आयोजनामा प्रदेश सरकार लगानी गर्न तयार भएको हो ।

आज मुख्यमन्त्री जीवनबहादुुर शाही , जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र आयोजनाका प्रमुख सञ्जय सापकोटा बीचमा आयोजनाको प्रगति र लगानीका बिषयमा छलफल भएको हो ।

यस आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनका लागि माग गरिएको छ । कार्यविधिमा ५ प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न पाउने भन्ने कार्यविधि समेत सच्याउन आग्रह गरिएको छ ।

प्रदेश सरकारले अधिकतम रुपमा लगानी गर्ने सोचमा रहेको भन्दै प्रदेश गौरवको आयोजना बनाइ त्यसमा बढी भन्दा बढी शेर लगानी गर्न प्रदेश सरकार तयार भएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको उक्त आयोजनामा प्रदेश सरकारले आफ्नो लगानी बढाउन खोजेको उनले बताए ।

छलफलमा जगदुल्ला जलविद्युत आयोजनाका निमित्त प्रमुख सञ्जय सापकोटाले आयोजनाको प्रगती विवरण विवरण छलफलमा पेश गरेका थिए । आयोजनाको ट्रस्ट एडिट टनेलको काम समेत सम्पन्न भइसकेको छ । आयोजनाको विद्युत उत्पादन गृह इलमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति १०० प्रतिशत सम्पन्न भएपछि आयोजना निर्माण चरणमा अगाडी बढेको छ ।

कुल ४०० मिटर लम्वाइ रहेको नुमना परिक्षण सुरुङमा ४०० मिटर खन्ने काम सम्पन्न भएकोे हो । जाजरकोट – डोल्पा ( भेरी करिडोर ) सडक खण्ड अन्तरर्गत जोडिएको त्रिवेणी देखि जगदुल्ला गाउँपालिका –१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाई ६ महिना भित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निर्मित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।

आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरि मुआव्जा समेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर)को काम समेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको निर्मित कार्यकारी प्रमुख सापकोटाले बताए ।

आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिबेदन माघ महिना भित्र पेश गरि चैत महिना भित्र वातावणीय अध्ययनको अन्तिम प्रतिबेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाको विद्युत उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण गरिएका छन । विद्युत खरिद बिक्री तथा सम्झौताको काम समेत भएको छ । वृत व्यवस्थापनका लागि बिभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना स्थलसम्म जान र आउनका लागि इल,निल दहमा पुल आयोजना आफैले निर्माण गर्ने भएको छ । जाजरकोट –डोल्पा सडक खण्डको त्रिवणीबाट –इल सम्माको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आवह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिएपनि ठेकेदारको ढिलासुस्तीले बल्ल काम सुरु भएको छ ।

वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता , ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडी बढाइ आउँदो आर्थिक वर्ष देखि निर्माण कार्य सुरु गर्ने आयोजनाको दावी छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनौटको बोलपत्र सम्बन्धि कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निर्मित कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए ।