बित्तिय साक्षरताले युवाहरु व्यवसायतर्फ आकर्षित


सुर्खेत । भगवतीमाई ४ दैलेखका जित बहादुर नेपाली १९ वर्षका भए । निम्न वर्गिय परिवारका जित बहादुर १२ कक्षामा अध्ययनरत छन् । बुवाले ज्याला मजदुरी गरी ५ जनाको परिवार चलाईरहेका छन् । तर पनि केही न केही सीप सिकेर दुईचार पैसा आम्दानी गरे बुवालाई सहयोग पुग्ने सोचमा रहेका जितबहादुर सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले युथ लिड जेशी परियोजना अन्तरगत मनघरमा सञ्चालन गरेको तीन महिने बित्तिय साक्षरता कक्षामा उनी सहभागी भए ।

उक्त कक्षामा बित्तिय साक्षरता, परिवार बिकास योजना, व्यवसाय सञ्चालन र व्यवसाय सञ्चालन गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने बिषयमा छलफल हुने गर्दथ्यो । कक्षामा सहभागि भइरहदा जितबहादुरलाई आफुले पनि व्यवसाय सुरुवात गर्छु भन्ने आँट जाग्न थाल्यो । परियोजना अन्तरगत बित्तिय साक्षरता कक्षाका सहभागिहररुलाई सुर्खेतमा सञ्चालन गरिरहेको बित्तिय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा पनि उनले सहभागि हुने अबसर प्राप्त गरे ।

तालिममा सबै सहभागिले आफ्नो गाउँ ठाउँमा सम्भावित र सफल हुन सक्ने व्यवसायहरु छनौट गरी व्यवसायिक योजना निर्माण गर्ने क्रममा उनले आफ्नो ठाउँमा कुखुरा पालन व्यवसायको सम्भावना देखे र योजना बनाए । उनले योजना मात्र बनाएनन गाउँ फर्किएर थोरै लागानीमा कुखुरा पाल्न सुरु गरे ।

सुरुमा तिसहजार लगानीमा उनले ५० वटा कुखुरा हालेका छन् । गाउँमा घाँस र चरणक्षेत्र प्रशस्त रहेकाले उनले ३ वटा बाख्रा पनि किनेका छन् । भर्खरको युवा त जागिर गर्नुपर्छ बिदेश जानुपर्छ भन्ने समाजको मानशिकता भएपनि आँफुले भने गाउँमै व्यवसाय गरेर अगाडी बढ्ने सोच बनाएको उनले बताए । आगामी दिनमा आफ्नो पढाईलाई पनि निरन्तरता दिने यही कुखुरा र बाख्रा पालन व्यवसायलाई बृद्धि गरेर लैजाने तयारीमा उनी छन् ।

उनी जस्तै बित्तिय साक्षरता कक्षाम सहभागि भएका मनघरकै युवराज केसीले पनि कुखुरा पालन व्यवसाय सुरु गरेका छन् । कक्षा ११ मा अध्ययनरत २० वर्षिय केसीले आफ्नै घरमा एक कोठा छुट्याएर ५० हजारको लगानीमा एक सय वटा बोइलर कुखुराहरु हालेका छन् ।

आफ्नो पढाइसंगै व्यक्तिगत खर्चहरुका लागि पनि घरमा पैसा माग्नुपर्ने अबस्था, आर्थिक अबस्था कमजोर त्यसैले पनि अब आफै केही न केही व्यवसाय गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको हुँ, केसीले भने, सफल भ एभने यसलाई बढाउने सोचमा छु ।

डुङ्गेश्वर गाउँपालिका वडा न २ देउलीकी कमला बिकले पनि गाउँमै कस्मेटिक पसल सुरु गरेकी छिन् । २७ वर्षिय कमलाको ५ जनाको परिवार छ । कक्षाले आफु पनि आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरामा मलाइ प्रेरित गर्यो, कमला भन्छिन, ३० हजारको लगानीमा मैले गाउँमै पसल सुरु गरिकी हुँ ।

उनले पसलको आम्दानीबाटै मासिक १५ सय रुपैया बचत गर्ने गरेको बताइन् । श्रीमान घरखर्चकै लागि धेरै वर्षदेखि भारतमा हुनुहुन्छ, उनले थपिन्, मेरो पसलले गर्दा घरको सानो तिनो खर्चहरु टार्नको लागि सहयोग पुगेको छ । युवाहरुले तालिममा व्यवसायीक सीप सिकेपछि गाउँमै गएर व्यवसाय थालेका हुन् ।