
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन् ।
७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिए ।
उनले विसं २००७ मा प्रजातन्त्रप्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो भन्दै यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गराए ।
उनले मुलुकले युगान्तकारी राजनीतिक परिवर्तन गरेको र अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी भएकाले हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो रहेको उल्लेख गरे ।

फरकबाटो ७ फाल्गुन २०७८, शनिबार २१:०१