डोरितान संघ सुर्खेतको अध्यक्षमा हरिलाल खड्का

सुर्खेत । राष्ट्रिय खेलकुद परिषद्द्वारा मान्यता प्राप्त डोरितान संघ कर्णाली प्रदेश कार्यसमितिले आज संघको सुर्खेत जिल्ला कार्यसमिति गठन गरेको छ । वीरेन्द्रनगरमा शनिबार सम्पन्न भेलाबाट सुर्खेतका नौ वटै पालिकाको प्रतिनिधित्व हुने गरि हरिलाल खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा भिमकुमारी भुषाल, सचिवमा विवेक खनाल, सहसचिवमा याम बहादुर घर्ती र चन्द्र बहादुर रावल र कोषाध्यक्षमा लक्ष्मी भुषाल रहेका छन् । सदस्यहरुमा खगेन्द्र जिसी, जनक बुढा, विरेन्द्र वली, कमल सिजाली, दिपक शाही, सुशीला रोका क्षेत्री, प्रकाश खनाल, कृष्ण कंडेल र नवीन अधिकारी रहेका सचिव विवेक खनालले जानकारी दिए ।

डोरितान संघ कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीको अध्यक्षतामा र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र कुमार गिरीको प्रमुख आत्थ्यितामा भेला सम्पन्न भएको थियो ।  नवगठित समितिलाई बधाई तथा शुभकामना दिँदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीले आगामी दिनमा यो खेललाई विस्तार गरि सम्पूर्ण खेलप्रेमीहरुसम्म पुर्याउन आफ्नो तहबाट प्राविधिक, आर्थिक तथा खेलकुद सामग्रीको सन्दर्भमा पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२ हजार वर्ष पुरानो विश्व इतिहास बोकेको यो खेलले अन्य खेल जस्तै विकास गर्न नसकेपनि अब यसको महत्व खेलकुद जगतमा पुर्याउनु पर्ने र विद्यालय तथा अन्य क्षेत्रका युवा पुस्तालाई समेत समेटेर लैजानुपर्नेमा सहभागीहरुको जोड दिएका छन् ।कार्यक्रममा प्याब्सन सुर्खेतका अध्यक्ष दल बहादुर गुरुङ्ग, जिखेविस सदस्य भिम कुमारी भुषाल लगाएतको उपस्थित रहेको थियो ।