अँझै  बञ्चित छन् मताधिकारबाट कर्णालीका महिला

जनसंख्यामा पुरुषभन्दा ३८ हजार २ सय ८२ ले बढी, मतदाता नामावलीमा १२ हजार ४ सय ४ ले कम

फाइल फोटो

सुर्खेत । कर्णाली प्रदेशका महिला अँझैपनि मताधिकारबाट बञ्चित रहेका छन् । प्रदेशभरको महिलाको जनसंख्या र मतदाता संख्यालाई तुलना गर्दा पुरुषको तुलनामा महिलाहरु अँझैपनि मताधिकारबाट बञ्चित रहेको देखिन्छ ।

कर्णाली प्रदेशभरबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १० लाख ८ हजार ४ सय ६ जनाले मतदान गर्नेछन् । जसमा ४ लाख ९८ हजार महिला मतदाता रहेका छन् भने पुरुष मतदाताको संख्या ५ लाख १० हजार ४ सय ३ र अन्यमा ३ जना रहेको जिल्ला निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन् ।

गत स्थानिय तहको निर्वाचनमा कर्णालीमा ९ लाख ८ हजार ४ सय ३३ मतदाता संख्या रहेका थियो  । जसमा महिला मतदाताको संख्या ४ लाख ४९ हजार ३० रहेको थियो भने पुरुष मतदाताको संख्या ४ लाख ५९ हजार ४ सय १ रहेको थियो ।

आगामी निर्वाचनमा मतदाताको संख्या १० लाख ८ हजार ४ सय ६ रहेपनि महिलाको संख्या पुरुषको तुलनामा १२ हजार ४ सय ४ जनाले कमी रहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कर्णालीका दशवटै जिल्लाहरुबाट मतदान गर्ने अन्य समुहको संख्या भने प्रदेशभर ३ जना रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क बमोजिम कर्णाली प्रदेशभर महिलाको जनसंख्या ८ लाख ६६ हजार ५ सय ८२ रहेको छ ।  प्रदेशभर जम्मा जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेकोमा पुरुष संख्या ८ लाख २८ हजार ३ सय ७ रहेको हो ।

तुलनात्मक रुपमा पुरुषको तुलनामा ३८ हजार २ सय ८२ ले महिलाको जनसंख्या बढी भएपनि मतदाता नामावली अनुसार १२ हजार ४ सय ४ जना महिला पुरुषको तुलनामा कम रहेका हुन् ।

यस विषयमा अधिवक्ता गिता कोइरालाका अनुसार महिलाहरुको प्रमाणहरु जस्तै -नागरिकता, विवाहदर्ता जस्ता कुराहरु नहुनु, महिलालाई मताधिकार बारे जानकारी नहुनु , रोजगारीका शिलशिलामा श्रीमान् बाहिर जानु र श्रीमान् बाहिर भएको कारण पनि महिला बाहिर हिंड्न वा निर्वाचन कार्यालय सम्म पुग्न समाजसंग डराउने कारण पनि मताधिकारबाट बञ्चित रहेका हुन् ।

यद्यपी महिलाहरु घरकै चुलोचौकोमा सिमित हुनुपर्छ भन्ने मान्यताको समाज बदलिएर महिलाहरु नेतृत्वमा आएपनि तल्लो तहका महिलाहरुसम्म मताधिकारको पहुँच नपुगेको उनले तर्क गरिन् । यसका लागि मतदाता शिक्षा, मतदाता नामावलीका लागि घुम्ती शिविर तथा अन्य प्रमाणका लागि पनि पहल र चेतनामुलक कार्यक्रम गर्नुपर्ने उनले बताईन् ।

प्रदेशका दशवटै जिल्ला मध्ये सबैभन्दा धेरै सुर्खेत जिल्लामा मतदाता रहेका छन् । सुर्खेत जिल्लामा हाल २ लाख ४३ हजार ६ सय १४ मतदाता रहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार महिला १ लाख २४ हजार ८ सय ७६ र पुरष १ लाख १८ हजार ७ सय ३८ रहेका छन् ।

यस्तै रुकुमपश्चिमका जिल्ला निर्वाचन अधिकारी रिमाकुमारी मल्लका अनुसार जम्मा १ लाख ४ हजार २ सय ८० मतदाता रहेकोमा महिला ५१ हजार ५ सय ४४ र पुरुष ५२ हजार ७ सय ३५ रहेका छन् । अन्यमा एकजनाको नामावली रहेको उनले जानकारी दिईन् ।

सल्यानका जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार जम्मा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेकोमा महिला ७७ हजार ४ सय ८९ र पुरुष ८० हजार २ सय १२ रहेका छन् ।

डोल्पा जिल्लाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीका अनुसार जम्मा २२ हजार ७ सय ७४ मतदाता रहेकोमा महिला ११ हजार ५ सय ३० र पुरुष ११ हजार २ सय ४४ रहेका छन् ।

जुम्लाका जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लाभर ६८ हजार ६ सय ३८ मतदाता रहेकोमा महिला ३२ हजार ९ सय ३८ र पुरुष ३५ हजार ७ सय रहेका छन् ।

मुगुका जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेका अनुसार जम्मा ३५ हजार ४ सय ८५ मतदाता रहेकोमा महिला १७ हजार १ सय ७१ र पुरुष १८ हजार ३ सय २४ रहेका छन् ।

हुम्लाका जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार जिल्लाभर ३२ हजार ८ सय ५७ मतदातामा महिला १५ हजार ७ सय २९ र पुरुष १७ हजार १ सय २८ रहेका छन् ।

कालिकोटका जिल्ला निर्वाचन अधिकारी नन्दराम चौलागाईका अनुसार जिल्लाभर जम्मा ८० हजार ७ सय ३३ मतदाता रहेकोमा महिला ३८ हजार ५ सय ५ र पुरुष ४२ हजार २ सय २८ रहेका छन् ।

जाजरकोटका जिल्ला निर्वाचन अधिकारी नविन कुमार कठायतका अनुसार जिल्लाभर जम्मा १ लाख ३ हजार ३ सय ६३ मतदाता रहेकोमा महिला ४८ हजार ७ सय ६० र पुरुष ५४ हजार ६ सय १ र अन्य अन्यमा दुईजना रहेका हुन् ।

दैलेखका जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाका अनुसार जिल्लाभर १ लाख ५८ हजार ९ सय ५८ मतदाता रहेकोमा महिला ७९ हजार ४ सय ३८ र पुरुष ७९ हजार ५ सय २० जना रहेका हुन् ।

प्रदेशभर जनसंख्यामा महिला बढी भएपनि आफ्नालागि कानुन निर्माण गर्ने नेता चुन्ने ठाउँमा महिलाको पहुँच अँझै पुग्न सकेको छैन ।