स्कूले छात्राले बनाए स्प्रे साइकल

बुटवल  । बुटवलको कालिका मानवज्ञान माबिका छात्राहरुले खेतबारीमा औषधी छर्ने स्प्रे साईकल बनाएका छन । साइकलका पाटपुर्जा र औषधी छर्कने पम्पको प्रयोग गरि १० कक्षामा अध्ययनरत छात्राहरूले स्प्रे साइकल बनाएका हुन् ।

छात्राहरु सुजाता ज्ञवाली, निर्देशिका थापा, सुवेच्छा थापा क्षेत्री र सृजना खनालले उक्त साइकल स्प्रे बनाएका हुन । साइकल गुडाउदा यसमा भएको पम्पले चारैतर्फ तरल पदार्थ छर्न सक्ने उनीहरुले बताएका छन् । साइकल गुडाउदा स्वचालित रुपमा पम्पमा चाप बढ्ने भएकोले तरल पदार्थ छर्नको लागि बाहिरी शक्ति आवस्यक नपर्ने उनीहरुको भनाई छ ।

यो उपकरण खेतबारीमा विषादी छर्कन र धुलो नियन्त्रणको लागी पानी छर्कन उपयोगी हुने विद्यार्थी सुजाता ज्ञवालीले बताईन् । विद्यार्थीले बनाएको साइकल स्प्रेलाई कालिका मानवज्ञान माविमा आयोजित विज्ञान प्रदर्शनिमा राखिएको शिक्षक युवराज कँडेलले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीले विज्ञान प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थीहरुले गरेका नयाँ अविस्कार किसानको लागी बरदान हुने बताए ।

कालिका मानवज्ञान माबिको ६१ औं वार्षिकोत्सबको अवसरमा विज्ञान प्रदर्शनी राखिएको थियो । कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुले बनाएका विभिन्न २ सय किसिमका सामग्री र प्रविधिहरु प्रदर्शनीमा राखिएको थियो ।